मेचीनगरमा जापानिज इन्सेफलाइटिसका दुई बिरामी फेला, नगरपालिकाले रोकथामका लागि पहल थाल्यो

A notice in Nepali from Mechinagar Ward No. 10

११ साउन, मेचीनगर : झापाको मेचीनगर नगरपालिकामा हालै दुई जनामा जापानिज इन्सेफलाइटिस रोगको संक्रमण पुष्टि भएको छ। मेचीनगर–३ की ३६ वर्षीया र मेचीनगर–५ की ५५ वर्षीया महिलामा यो संक्रमण देखिएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ। प्रारम्भमा टाउको दुख्ने र ज्वरो आउने जस्ता सामान्य लक्षण देखिएपछि उनीहरूले सामान्य उपचार गराएका थिए, तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पताल पुग्दा उनीहरूमा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको हो। डाक्टर शरद भट्टराईले उपचार गरेका दुईमध्ये वडा नम्बर ३ की महिला उपचारपश्चात् घर फर्किसकेकी छन् भने अर्की महिला बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासीटी अस्पतालमा उपचाररत छिन्।

सोही विषयमा आज मेचीनगर नगरपालिकाको स्थानीय द्रुत प्रतिकार्य समिति (RRC) र द्रुत प्रतिकार्य टोली (RRT) को संयुक्त बैठक सम्पन्न भयो। स्थानीय द्रुत प्रतिकार्य समितिका संयोजक एवम् नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा भएको यस बैठकमा जापानिज इन्सेफलाइटिस संक्रमण देखिएका वडाका वडाध्यक्षहरू पनि सहभागी थिए। बैठक मेचीनगरमा देखिएको जापानिज इन्सेफलाइटिसको संक्रमणलाई तत्काल रोकथाम गर्ने र गर्नुपर्ने विषयमा केन्द्रित थियो।

स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने र लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग भएको जानकारी दिनुभयो। यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने भए पनि, धेरैजसो १५ वर्षमुनिका बालबालिकामा देखिने उहाँले बताउनुभयो। यो भाइरस संक्रमित हाँस, कुखुरा जस्ता चराचुरुङ्गी र सुँगुर–बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोकेपछि सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा रोग सर्ने गर्दछ, तर मानिसबाट मानिसमा भने यो रोग नसर्ने उहाँले स्पष्ट पार्नुभयो। विशेषगरी साउनदेखि कार्तिक महिनासम्म यो रोग देखिने गरेको छ। प्रमुख बाराकोटीले बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, बेहोस हुने, घाँटी कडा हुने, कम्पन हुने, पक्षघात हुने यस रोगका मुख्य लक्षण भएको र समयमा उपचार नभए बिरामीको मृत्युसमेत हुन सक्ने चेतावनी दिनुभयो।

लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय भएको बाराकोटीले जोड दिनुभयो। यसका लागि उहाँले लामखुट्टे भगाउने धूप वा मल्हम प्रयोग गर्न, सधैँ झुलभित्र सुत्न, घरका झ्याल ढोकामा जाली राख्न, पानी जम्ने खाल्डाखुल्डी पुर्न, घर बाहिर निस्कँदा वा खेतबारीमा काम गर्दा पूरा बाहुला भएका कपडा लगाउन, र हाँस, कुखुरा, सुँगुर–बङ्गुर जस्ता घरपालुवा जनावरहरूलाई घरदेखि टाढा व्यवस्थित खोरमा राख्न सुझाव दिनुभएको छ। गत वर्ष मेचीनगरको वडा नम्बर १५ मा यो संक्रमणबाट एकजनाको ज्यान गएको थियो। छलफलमा विश्व स्वास्थ्य सङ्गठन (WHO) का खोप सर्भिलेन्स अफिसर डाक्टर सङ्गीता शाह, संगठनका सर्भिलेन्स डाक्टर सोनिया भगत लगायतका विज्ञ टोलीले पनि प्रस्तुतीकरण गरेका थिए। बैठकमा नगर उपप्रमुख मीना पोखरेल उप्रेती, वडा नम्बर ३ का वडाध्यक्ष हर्कबहादुर बस्नेत, वडा नम्बर ५ का वडाध्यक्ष कनकबहादुर कार्की, स्वास्थ्यकर्मीलगायतका सहभागीहरूले विभिन्न जिज्ञासा राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.