झापा। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत झापा क्षेत्र नम्बर १ मा उत्साहजनक सहभागिताका साथ मतदान सम्पन्न भएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार यस क्षेत्रमा ६३.९५ प्रतिशत मत खसेको छ।
झापा-१ का कुल १ लाख ३१ हजार ६७ मतदातामध्ये ८३ हजार ८२२ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन्। मतदान गर्नेहरूमध्ये महिलाको संख्या पुरुषको तुलनामा बढी देखिएको छ। विवरण अनुसार ४३ हजार ७८२ महिला र ४० हजार ४० पुरुषले मतदान गरेका छन्।
यद्यपि, निर्वाचन अधिकृतको कार्यालयले यसको आधिकारिक घोषणा गर्न भने बाँकी छ। अहिले सबै मतदान केन्द्रबाट मतपेटिकाहरू सङ्कलन गरी गणना स्थलतर्फ लैजाने तयारी भइरहेको छ। यस क्षेत्रमा नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा र नेकपा (एमाले) का अग्नि खरेलबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।


























