१७ असार, मेचीनगर : झापाको मेचीनगर नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०८१-०८२ मा लक्ष्य अनुसार प्रगति गरेको छ ।
मंगलबार नगरपालिकाको सभाहलमा महिला तथा बालबालिका शाखाले आयोजना गरेको कोशी प्रदेश सरकार सामाजिक विकाश मन्त्रालय, मेचीनगर नगरपालिका र करूणा फाउन्डेसन नेपालको त्रिपक्षीय लगत साझेदारी र राष्ट्रिय अपाङ्गता महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत पालिका स्तरीय चालु आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समिक्षा तथा सामाजिक लेखाजोखा कार्यक्रममा शाखा प्रमुख जयन्ती खरेलले प्रस्तुत गरेको अभिलेखले यसलाई पुष्टि गरेको छ ।

कोशी प्रदेश सरकार सामाजिक विकाश मन्त्रालय, मेचीनगर नगरपालिका र करूणा फाउन्डेसन नेपालको त्रिपक्षीय लगत साझेदारीमा मेचीनगरमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन हुदैं आएको करूणा फाउन्डेसन नेपाल मेचीनगर संयोजक पदम वराइलीले जानकारी दिए । ३८ वटा विभिन्न क्रियाकलापमध्ये ८० प्रतिशतभन्दा बढीमा उपलब्धि हासील भएको वराइलीले बताए ।
नगरमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम, अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचय पत्र वितरण शिविर सम्पनन गरिसकेको ,उक्त शिविर लक्षित वर्गसम्म पुर्याउन सफल भएको र त्यसबाट निक्कै ठुलो उपलब्धि मिलेको शाखा प्रमुख खरेलको प्रस्तुतिकरणमा उल्लेख छ ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता र सामाजिक विकास समिति संयोजक हृदय राजवंशीको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा सहायक सामग्री खरीद तथा वितरण, व्यावसाय सञ्चालनका लागि अनुदान, स्वास्थ्य उपचार सहयोगका केही गतिविधीहरु चालु आर्थिवर्षमा सम्पन्न हुने गरी सञ्चालनमा रहेको बताइएको छ । अपाङ्गताको प्रकृतिको आधारमा सूचना व्यवस्थापन प्रणालीको अभिलेख अनुसार हालसम्म मेचीनगरमा १ हजार ६ सय २२ जना अपाङ्गता भएका व्यक्तिले परिचय पत्र प्राप्त गरेका छन् ।
शारीरिक अपाङ्गता ६ सय ४०, सुनाई सम्बन्धि अपाङ्गता २ सय ८५, मानसिक वा मनोसामाजिक अपाङ्गता २ सय १, बहु अपाङ्गता १ सय ३९, बौद्धिक अपाङ्गता १ सय २५ दृष्टि सम्बन्धि अपाङ्गता १ सय १३, स्वर बोलाई सम्बन्धी अपाङ्गता ७२ अटिज्म समबन्धी अपाङ्गता ८३ र हेमोफिलिया सम्बन्धी अपाङ्गता २ जना रहेका छन् ।
कार्यक्रममा बोल्दैं प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले अपाङ्गगता भएका व्यक्तिहरुलाई माया होइन अवसर दिनुपर्ने बताएका छन् । अपाङ्गगता भएका व्यक्तिहरुलाई अवसर दिएको खण्डमा उनीहरु पनि अरु सरह काम गर्न सक्ने भएकाले माया होइन अवसर दिनुपर्ने नगरप्रमुख बुढाथोकीको भनाई थियो ।

अपाङ्गता हिजो लुकाईने, पहुँचका आधारमा सेवा सुविधा पाउने भन्दैं नगरप्रमुख बुढाथोकीले हरेक अपाङ्गता भएका व्यक्तिहरुलाई विभेद नगरी उनीहरुको हक, हित अधिकार ग्यारेन्टी हुनुपर्ने र राज्यले दिने सुविधा सवैले पाउनु पर्नेमा जोड दिए । अपाङ्गता भएका मानिसको पीडा उस्को परिवारलाई मात्र थाहा हुने हुँदा अब उनीहरुलाई प्रविधिकरूपबाट दक्ष बनाउनेतर्फ सरकार र सवैक्षेत्र लाग्नुपर्ने उनको भनाई थियो ।
अझैपनि अपाङ्गगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण र राज्यले प्रवाह गर्ने हरेक सेवा सुविधाबाट अपाङ्गता भएका व्यक्तिहरु वञ्चित रहेको उल्लेख गर्दै आगामी दिनमा अपाङ्गका लागि ठोस योजना ल्याउने उनको भनाई थियो । अपाङ्गता भएका व्यक्तिहरुको हक, अधिकार र जीविकोपार्जनमा सहयोग पु-याउने उद्देश्यले सरकारले विभिन्न कार्यक्रम अघि सारेको उनले बताए ।

महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेलले सञ्चालन गरेको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, वडानम्बर १ का वडाध्यक्ष रामकुमार राई कार्यपालिका सदस्य तीलजा देवानलगायतले समिक्षात्मक धारणा राखेका थिए ।

















