जनप्रतिनिधि तथा जिल्लाका अधिकारीहरुद्वारा हात्तीगौंडाको निरीक्षण: हात्ती छेक्न सीमामा २५ किलोमिटर तटबन्धन गर्ने योजना

A notice in Nepali from Mechinagar Ward No. 10

१२ असार, मेचीनगर : मेचीनगरमा हात्तीको दीर्घकालीन समस्याको समाधानका लागि सांसदहरु, प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, प्रहरी उपरीक्षक लगायतको टोलीले बाहुनडाँगीको सीमा क्षेत्रमा निरीक्षण गरेका छन् ।

शनिबार प्रतिनिधि सभा सदस्य राम कार्की, प्रदेश सभा सदस्यहरु श्रीप्रसाद मैनाली, राधा थापा, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, निवर्तमान नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, वडाध्यक्ष अर्जुनकुमार कार्की, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवम् प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी २ नम्बर गण झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रेम भण्डारी लगायतको टोलीले भारतबाट हात्ती छिर्ने मुख्य सीमा नाका मेचीनगर–४ स्थित भन्सार गौडाको मलामी टोलमा निरीक्षण गरेका हुन् ।

‘मेचीनगरका जनता वर्षौदेखि हात्तीबाट पीडित छन्’, नगरप्रमुख बुढाथोकीले भने–‘उनीहरुको दीर्घकालीन समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकार लाग्ने छ ।’

विगतमा हात्ती छेक्न लगाएको सोलार फेन्सिङ (विद्युतीय तारबार) भत्किएको छ । काम नै नलाग्ने अवस्थामा पुगेपछि दिनहुँ हात्तीहरु हुलका हुल छिरिरहेका छन् । स्थानीयको धानबालीमा क्षति पुगेको छ भने घर भत्काउने, मानिसलाई घाइते बनाउने र मार्ने सम्मको हर्कत हात्तीले गरिरहेको छ । यसमा तीन वटै सरकारले ध्यान दिएको अवस्था छैन । हात्तीबाट धानबालीकोे क्षति हुँदा सरकारले सामान्य राहत बाहेक अरु केहि दिएको छैन ।

निवर्तमान नगरप्रमुख आचार्यको पालामा भन्सार गौडामा हात्ती छेक्न केही ठाँउमा तटबन्धन गरिएको थियो । र पनि त्यसको दायाँ बायाँबाट हात्तीहरु छिरिरहेका छन् ।

‘हात्ती छेक्न तत्काल विद्युतिय तारबारलाई मर्मत गर्नुको विकल्प छैन’, प्रमुख बुढाथोकीले भने–‘यसका लागि कार्यपालिकाको वोर्ड वैठकले निर्णय गरिसकेको छ । अब सीमा क्षेत्रमा चाँडै विद्युतीय तारबार मर्मत गरिनेछ ।’

उनले मेचीनगर–६ को बर्मेली टोलदेखि इलाम सलकपुर छेउ तिरिङ सम्मको करिव २५ किलोमिटर नेपाल पटिको क्षेत्रमा तटबन्धन (बाँध) निर्माण गर्न जरुरी रहेको बताए । त्यसका लागि करिव १ अर्ब बजेट आवश्यक पर्ने उनको बुझाई छ ।

तटबन्धन गर्न सके भारतबाट हात्ती पनि नआउने, नदी नियन्त्रण र सिद्दीखोलाको नहरलाई त्यहाँ जोड्न सकिने बुढाथोकीले बताए ।

उनका अनुसार झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालको संयोजनमा हात्तीको समस्याका विषयमा बृहत छलफल गरी अवधारणा बनाएर केन्द्रको ध्यानाकर्षण गराउने योजना रहेको छ ।

मेचीनगर–४ का वडाध्यक्ष कार्कीले शनिबार साँझ समय अभावका कारण भन्सार गौडामा मात्र सांसदको टोलीलाई भारतबाट हात्ती आउने ठाँउ र यहाँका समस्याका बारेमा जानकारी गराएका थिए । वडाध्यक्ष कार्कीले स्थानीय २० जनालाई हात्ती धपाउन टर्चलाईट पनि वितरण गरेका थिए ।

त्यस्तै मानव हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेती, स्थानीय शंकर लुइटेल लगायतले पनि हात्तीबाट भएको मानवीय तथा धान बालीको क्षति, समस्या र समाधानका विषयमा टोलीलाई अवगत गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.