मेचीनगर नगरपालिकाले चाडपर्वको समयमा बजारलाई व्यवस्थित, स्वच्छ, स्वस्थ तथा उपभोक्तामैत्री बनाउन व्यवसायी र उपभोक्ताका लागि विभिन्न निर्देशन जारी गरेको छ।
नगरपालिकाले मिठाई, दूध, घिउ, माछा, मासु लगायत दैनिक उपभोग्य खाद्यान्नको कारोबार गर्ने व्यवसायीलाई कालोबजारी, कृत्रिम अभाव सिर्जना तथा अस्वाभाविक मूल्यवृद्धि नगर्न आग्रह गरेको हो।
नगर कार्यपालिकाको कार्यालयले कात्तिक १७ गते जारी गरेको सूचनामार्फत व्यवसाय तथा फर्म अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरेर मात्र सञ्चालन गर्न व्यवसायीलाई सचेत गराएको छ।
मूल्यसूची अनिवार्य राख्न निर्देशन
नगरपालिकाले दैनिक उपभोग्य वस्तुको मूल्यसूची उपभोक्ताले स्पष्ट रूपमा देख्न र बुझ्न सक्ने गरी पसलमा अनिवार्य राख्न भनेको छ।
तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै मिठाईजन्य खाद्य वस्तुमा अखाद्य रंग प्रयोग नगर्न तथा म्याद नाघेका, न्यून गुणस्तरका, मिसावटयुक्त, अखाद्य वा अवैध वस्तुको कारोबार नगर्नसमेत व्यवसायीलाई निर्देशन दिइएको छ।
जुवा–तासदेखि पटका र फोहोरसम्म रोक्न आग्रह
नगरपालिकाले चाडपर्वका नाममा तास, जुवा, डाइसजस्ता निषेधित गतिविधि नगर्न तथा मदिराजन्य पदार्थ सेवन गरी असहज रूपमा चाडपर्व मनाउने गतिविधिलाई निरुत्साहित गर्न आग्रह गरेको छ।
त्यस्तै, सडक, यातायात तथा आवागमनमा अवरोध हुने गरी विभिन्न सामग्री वा निर्माणजन्य सामग्री जथाभावी नराख्न, पटका तथा आतिशबाजीका सामग्री प्रयोग नगर्न र जथाभावी फोहोरमैला नगर्न नगरपालिकाले अनुरोध गरेको छ।
चाडपर्वलाई शान्तिपूर्ण, सभ्य तथा मर्यादित रूपमा मनाउन नगरपालिकाले सबै नगरवासीलाई आग्रह गरेको छ।
उपभोक्तालाई पनि सचेत रहन आग्रह
नगरपालिकाले उपभोक्तालाई समेत बजारमा बिक्री हुने वस्तुको मूल्य, गुणस्तर तथा म्यादबारे सचेत रहन आग्रह गरेको छ।
प्रचलित मूल्यभन्दा बढी रकम लिएको पाइएमा नगरपालिकालाई जानकारी गराउन उपभोक्तासँग अनुरोध गरिएको छ।
नियम उल्लङ्घन गरे कारबाही
नगरपालिकाले जारी गरेको सूचनामा नियम तथा प्रचलित कानुनको पालना नगर्ने व्यवसायीमाथि नियमित तथा आकस्मिक बजार अनुगमनका क्रममा कारबाही गरिने उल्लेख छ।
कालोबजारी, मूल्यवृद्धि तथा सूचनामा उल्लेखित प्रावधान उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुनअनुसार सामान जफत गर्नुका साथै दण्ड तथा जरिवानासमेत हुने नगरपालिकाले चेतावनी दिएको छ।
नगरपालिकाले शुभदीपावली, छठ तथा नेपाल संवत्लगायत चाडपर्वका अवसरमा सम्पूर्ण नगरवासीमा सुख, शान्ति र समृद्धिको शुभकामनासमेत व्यक्त गरेको छ।





















