मेचीनगर ,माघ १० । मेचीनगरको काँकरभिट्टामा जारी प्रथम स्व.अर्जुन तामाङ स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि डीवाईपी फुटबल क्लब डुँडामारीले जितेको छ ।
तुर्केनी खेल मैदानमा शुक्रबार सम्पन्न ‘नाईन साइड ‘ फाइनल खेलमा डीवाईपी फुटबल क्लब डुँडामारीले शिवसताक्षी धाम फुटबल क्लबलाई टाइब्रेकर मा ५–४ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो।

करीब ३ हजार दर्शकले हेरेको रोमान्चक फाईनल खेलमा डीवाईपी एफसीका जर्सी नम्बर १० का प्रितम लिम्बुले खेलको ४२ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । अत्यन्तै प्रतिष्पर्धात्मक बनेको खेलको ५५ औ मिनेटमा शिवसताक्षी धाम एफसीका जर्सी नम्बर ७ का रेजिन माझीले १ गोल गर्दै खेल बराबारी बनाए । निर्धारित समयसम्ममा दुवै टिमबाट समान १/१ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

तुर्केनी फूटबलको क्लबको आयोजनामा भएको प्रथम स्व.अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिता -२०७७ को विजेता डीवाईपी फुटबल क्लब डुँडामारीले नगद रु ५० हजार ,मेडल र ट्रफी प्राप्त गर्र्यो । त्यसैगरी उप विजेता शिवसताक्षी धाम फुटबल क्लबले नगद रु . २५ हजार र ट्रफीमा चित्त बुझायो । सो खेलमा डीवाईपी एफसीका जर्सी नम्बर १० प्रितम लिम्बु ‘ म्यान अफ दि म्याच ‘ घोषित भए । उनले नगद दुई हजार पाँच सय सहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खेलकुद विकास समितिका पूर्व अध्यक्ष शंकर थापा, विशिष्ठ अतिथि काँकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङ, अतिथि नेपाल दुवानी सेवा व्यवसायी महासंघ केन्द्रिय सदस्य श्याम प्रसाई (एसपी), स्व.अर्जुन तामाङका पिता ईन्द्रबहादुर तामाङलगायतले विजेता टिमलाई नगद ५० हजार नगदसहित ट्रफि र उपविजेता टिमलाई २५ हजार नगदसहित ट्रफि प्रदान गरेका थिए ।
खेल अवधिभरी खेलाडीको खेल प्रदर्शनलाई मूल्याङ्कन गर्दै उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार र सम्मान गर्ने क्रममा प्रतियोगिताको ‘म्यान अफ दि सिरिज ‘ शिवसताक्षी धाम फुटबल क्लबका सञ्जीव राई घोषित भए । उनले नगद तीन हजार सहित ट्रफी प्राप्त गरे । ‘ उत्कृष्ट गोलकिपर’ डीवाईपी फुटबल क्लब डुँडामारीका सन्दिप लिम्बुले हात पार्दै नगद दुई हजार पाँच सय सहित ट्रफी प्राप्त गरे ।’ वेष्ट डिफेण्डर ‘ शिवसताक्षी धाम फुटबल क्लबका टेकेन मगर र ‘वेष्ट मिडफिल्डर’ शिवसताक्षीका रोहन कार्की घोषित भए । दुवैले समान दुई हजार पाँच सय सहित ट्रफी प्राप्त गरे ।

तुर्केनी फुटबल क्लबका अध्यक्ष रामकुमार लिम्बुको सभापतित्वमा गरेका थिए । उनले प्रथम स्व.अर्जुन तामाङ स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिता -२०७७ को समापन सुखद भएको र यसबाट आगामी वर्षहरुमा खेल अझ व्यस्थित गर्दै लगिने प्रेरणा मिनेको बताए । खेलको औपचारिक कार्यक्रममा उपाध्यक्ष दिलकुमार लिम्बूले स्वागत तथा कार्यक्रमको सञ्चालन क्लबका सल्लाहकार डिल्लिराम अधिकारीले गरेका थिए । माघ १ गते बाट सञ्चालन भई माघ ९ गते सम्पन्न भएको सो प्रतियोगितामा झापाका विभिन्न ९ फूटबल क्लबको सहभागिता रहेको थियो ।
















