झापाको निर्वाचन क्षेत्रनम्बर १ को दुवैतर्फ दुईपक्षिय प्रतिस्पर्धा

१६ कात्तिक मेचीनगर : झापाको निर्वाचन क्षेत्र नम्बर १ मा मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभा दुवैतर्फ दुईपक्षीय प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालय मेचीनगरका अनुसार सो क्षेत्रमा प्रत्यक्ष प्रतिनिधि सभा सदस्य एक पदकालागि १५ जना र प्रदेशसभा सदस्य २ पदका लागि १६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

सत्ता गठबन्धनको सीट बाँडफाडबाट नेपाली काँग्रेसको भागमा क्षेत्र नम्बर १ परेपछि गठबन्धनबाट नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा उम्मेदवार हुनुहुन्छ । शर्मालाई सत्ता गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थन छ । राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारी समेत एक्लै चुनावी मैदानमा हुनुहुन्छ ।

निक्कै चासोका साथ हेरिएको यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी तालमेलबाट नेकपा एमाले स्थायी कमिटी सदस्य, पुर्व महान्याधिवक्ता, पुर्व कानुन मन्त्री अग्निप्रसाद खरेल उम्मेदवार हुनुहुन्छ । खरेललाई राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन छ । एमालेका स्थानीय एकजना नेताका अनुसार खरेललाई अन्य केही साना दलको समेत समर्थन छ ।

यो क्षेत्रबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यकालागि चुनावी मैदानमा १५ जना उम्मेदवार भएपनि मुख्य प्रतिस्पर्धा भने एमाले र राप्रपाका साझा उम्मेदवार खरेल र गठबन्धनका उम्मेदवार शर्मा बीच हुने देखिन्छ ।

स्थानीय तह निर्वाचन २०७९ को मतअनुसार यो निर्वाचन क्षेत्रमा एमाले पहिलो र काँग्रेस दोस्रो शक्ति हुन् । दुवै ठूला दलहरुको आफ्नै उम्मेदवार भएका कारण पनि यो क्षेत्रमा खरेल र शर्माबीच रोचक प्रतिस्पर्धा हुने संकेत मिलेको स्थानीयको अडकल बाजी छ । निर्वाचन क्षेत्र– १ अन्तर्गत पर्ने २१ वटा वडामध्ये अधिकाँश वडा एमालेले जितेको छ ।

झापा क्षेत्र नम्बर १ मा गएको स्थानीय तह निर्वाचनबाट वडागत हिसाव गर्दा काँग्रेससँग २५ हजार ४ सय ८२ मत देखिन्छ । यस्तै एमालेसँग ३१ हजार २ सय २० मत छ । नेकपा (माओवादी केन्द्र) सँग ३ हजार ४ सय ७५ मत छ भने नेकपा (एकिकृत) १ हजार २ सय ३७, लोकतान्त्रिक समाजवादी पार्टीसँग १ सय ४३ तथा जनता समाजवादी पार्टीसँग ६९ मत छ । शर्माको निर्वाचन क्षेत्रमा राप्रपालगायत अन्य दलसँग ७ हजार ७ सय ८९ मत छ भने स्वतन्त्र उमेदवारको मत ४ हजार २७ छ ।

नेपाली काँग्रेसका महामन्त्री शर्मा यही भूगोलबाट तेस्रोपटक निर्वाचन लडिरहनु भएको छ । २०७० सालमा सम्पन्न संविधानसभाको निर्वाचनमा नेकपा एमालेका रविन कोइरालासँग पराजित बन्नुभएको थियो शर्मा । २०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा शर्मा फेरी सोही क्षेत्रबाट उम्मेदवार बन्दानेकपा माओवादी केन्द्रका नेता (सुरेन्द्रकुमार) राम कार्कीसँग दोस्रो पटक पराजित बन्नुभयो र कार्कीले संसद्को यात्रा तय गर्नुभयो । शर्मा र खरेलबीच रोचक प्रतिस्पर्धा हुनसक्ने अनुमान गरिएको छ ।

२०७४ को निर्वाचनमा गठबन्धनका उम्मेदवार कार्कीले ३६ हजार १ सय ७३ मत ल्याएर विजयी हुदाँ शर्माले ३३ हजार ३ सय १० मतमा चित्त बुझाउनु परेको थियो । आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्यम एमालेका नेता खरेलसँग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ शर्मा । निर्वाचन अधिकृतको कार्यालय मेचीनगरका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ यो क्षेत्रमा १ लाख २० हजार ३ सय ७५ जना मतदाता रहेका छन् ।

सत्ता गठवन्धनले क्षेत्रका विभिन्न स्थानमा आफ्नो सम्पर्क तथा प्रचार कार्यालय खोलेको छ भने एमाले पनि सम्पर्क कार्यालय र प्रचार प्रसार समिति गठनलाई तीब्र दिर्दै भित्री रणनीतिमा सक्रिय छ । खरेल र शर्मा जसले अन्य दलको मत आफूतिर बढी तान्न सक्छ, उसैले झापाको निर्वाचन क्षेत्रनम्बर १ मा चुनावी बाजी मार्ने सम्भावना छ ।

नेकपा एमालेले मेचीनगर नगरपालिकाको १५ वटा वडामध्ये ६, ८, १४ र १५ बाहेक अन्य वडालाई भोट बैंकका रुपमा लिने गरेको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा अधिकाँश वडामा एमालेको वडाध्यक्षसहित प्यानलनै विजयी भएका छन् । ६, ८, १४ र १५ चारवटा वडामा भने वडाध्यक्ष मुख्यः पद गुमाएको छ । तर, वडा सदस्यमा भने एमालेकै वर्चस्व छ । यी वडामा वडाध्यक्षमा नेपाली काँग्रेसले जिते पनि नेकपा एमालेको जनमत निक्कै राम्रो छ ।

प्रतिनिधि सभा सदस्यकालागि नेकपा एमालेका खरेल, नेपाली काँग्रेसका शर्मासहित राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ओलीन राजवंशी, स्वतन्त्रतर्फ केन्द्रकुमारी दाहाल, बिकाश राजवंशी, विदुरकुमार खतिवडा, राष्ट्रिय जनमुक्ति पार्टीका चित्रहाङ जबेगु, हाम्रो नेपाली पार्टीका ठण्डबहादुर अधिकारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पदममाया लिम्बु, नेपालका लागि नेपाली पार्टीका मुकुन्द दाहाल, जनसमाजवादी पार्टी नेपालका रमेश बास्तोला, जनता समाजवादी पार्टी नेपालका राधा थापा, नेपाल जनता पार्टीका रामकुमार काफ्ले मंगोल नेश्नल अर्गनाइजेसनका सन्तोष तामाङ चुनावी मैदानमा हुनुहुन्छ ।

निर्वाचन क्षेत्रनम्बर १ को प्रदेशसभा १ मा समेत एमालेका रविन कोइराला र नेपाली काँग्रेसका गोपाल तामाङबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ । उता २ मा राप्रपाका सविना बजगाई कट्टेल र माओवादी केन्द्रका श्यामवीर लिम्बुबीच प्रतिस्पर्धा हुनेछ । कट्टेललाई एमालेको साथ सहयोग छ भने लिम्बुलाई सत्तागठबन्धनको समर्थन रहेको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.