ताप्लेजुङको खेवाङ गाउँको मौलिक सरदेवी नृत्य बिर्तामोडमा पहिलो पटक गुञ्जियो

 

२५ भदौ, झापा : नेपालकै दुर्लभ र मौलिक पूर्वी पहाडी ताप्लेजुङ जिल्लाको खेवाङ गाउँमा नाचिने सरदेवी नृत्य सोमबार झापाको बिर्तामोडमा पहिलो पटक प्रस्तुत गरिएको छ । सरदेवी नृत्यसँगै गीतले खेवाङ गाउँको मौलिक संस्कृति झल्किाउछ । हिन्दु महिलाहरुको मुख्यः चाड हरितालिका तीजको अवसर पारेर खेवाङ झापा हातेमालो समाजले आयोजना गरेको सरदेवी नृत्य तथा तीज विशेष कार्यक्रममा यो नृत्य प्रस्तुत गरिएको थियो ।

विषेशगरी तीज हरितालिकाको अवसरमा खेलिने यो परम्परा ताप्लेजुङ खेवाङ गाउँको मौलिक संस्कृति पनि हो । खेवाङ गाउँलेको दाबी अनुसार यो परम्परा खेवाङमा मात्र छ । यो नृत्य भदौं २५ सोमवार झापाको बिर्तामोडमा प्रस्तुत गरिएको थियो । ‘सरदेवी नाच’ वर्षको एक दिन ‘हरितालिका तीज’ को दिनमात्रै नाचिन्छ ।

बीचमा बालक र बालिका दुई जनालाई राखिएको छ । त्यसको दुईतर्फ महिलाहरुको प्रतिस्पर्धी टोली । दुवै टिममा समान महिला । त्यसको नेतृत्व एक जनाले लिन्छन् । गीतबाटै सवाल–जवाफ हुन्छ ।

सरदेवी रानीका नाउँमा छोरी माग्न आएका ।

एकातिरको महिला समूहले यसरी गीत शुरु गरेपछि, अर्कातिरको त्यस्तै समूहले यसरी प्रश्न सोध्न थाल्छ

सरदेवी रानीका नाउँमा कहाँ बस्ने के थरी ?

यसमा महिला एकआपसमा हात समाएर अगाडिपछाडि सर्दै सवाल जवाफ गर्ने गर्छन् । गीतकै लयमा प्रश्न तेर्सेपछि केटापक्षको समूहले पनि गीतकै लयमा यसरी जवाफ फर्काउछ

सरदेवी रानीका नाउँमा सुभाङ्ग बस्ने उप्रेती ।

महिलामात्रैको प्रतिस्पर्धात्मक यो दोहोरी जस्तै हो । पुनः केटीपक्षले केटापक्षलाई गीतकै लयमा प्रश्न गर्छ ।

सरदेवी रानीका नाउँमा छोराका मावली के थरी ?

केटापक्ष पनि कमि हुदैन । गीतकै लयमा

सरदेवी रानीका नाउँमा छोराका मावली रिजाल हुन् । भन्र्दै जवाफ फर्काउछ ।

नेपालभरिमै ताप्लेजुङको खेवाङमा मात्र प्रचलित सरदेवी नृत्य हो यो । तत्कालिन समयमा हुने बाल विबाह, यसको जोखिम र रोकथाम गर्नु सरदेवी नृत्यको उद्घेश्य रहेको खेवाङ झापा हातेमालो समाजका सचिव लक्ष्मीकुमार चौलागाईँ बताउनुहुन्छ । केटापक्षको जवाफ पाए पनि केटीपक्षले पढ्दै गरेकी छोरी विहे पछि के हुन्छ पढाउने पो हुन् कि होईनन् भन्ने पाराले केटापक्षकालाई

सरदेवी रानीका नाउँमा हाम्री छोरी पढदै छिन् भनेपछि केटापक्ष पनि विवाह पछि पनि पढाउन राजी हुदैं

सरदेवी रानीका नाउँमा हामी लगेर पढाउँछौं भन्र्दै तयार हुन्छन् ।

केटीतिरका गाउँमा बुहारी पढाउने चलन नभएको गीतका माध्यमबाट यसरी पोख्छन्

सरदेवी रानीका नाउँमा बुहारी पढाउने चलन छैन

त्यतिभन्दा पनि केटापक्षले हाम्रा ठाउँमा बुहारी पढाउने चलन छ भन्दैं केटीपक्षलाई विश्वसा दिलाउन यसो भन्छ

सरदेवी रानीका नाउँमा हाम्रा ठाउँमा चलन छ

यसरी नै दुवैपक्षबाट लामो समय सवालजवाफ हुन्छ । केटी मान्नेकी नमान्ने, उमेर, दाइजो दिने चलन छ कि छैन् , छोराले कति पढेको, पछि छोरीले दुःख पाउने पो होकी जस्ता कुरा गीतकै माध्यमबाट सोधिन्छ भने केटापक्षले गीतकै लयमा जवाफ फर्काउनु पर्छ । सवै कुरा मिले पछि गरगहना, चिनाटिप, विवाहको साइत, सम्धि सम्धिनी तयारदेखि कपडा र गरगहना लगाउने सम्मका कुरा गीतकै लयमा हुन्छ ।

विर्तामोडमा भएको सरदेवी नृत्यमा केटा र केटीपक्षका ११/११ जनाको दुईवटा समूह थियो । केटीपक्ष समूहको नेतृत्व तारा गौतम दाहाल र गीता गौतम उप्रेतीले गर्नुभएको थियो । केटापक्ष समूहको नेतृत्व सीता सापकोटाले गर्नुभएको थियो ।

‘कुनै बेला यही नाचले बालविवाहलाई प्रश्रय दिन्थ्यो । हरितालिका तीजको दिन गाउँघरका महिला भेला भएर बालिका पर नसर्दै विवाह गर्नुपर्छ भनेर स्वरमा स्वर मिलाउँथे । भगवानको आशीर्वाद भन्थे । विवाहको नाटक गर्थे र समाजलाई प्रभावित पार्थे ’ तात्कालिन खेवाङ गाउँपञ्चायतका सचिव ९१ वर्षीय छविलाल गौतमले भन्नुभयो ।

उसवेला साबिकका दर्जनभन्दा बढी गाविसका मानिस हेर्न आउने र रुचाउने भएकाले उनीहरू बालविवाहविरुद्धको सन्देश लिएर फर्कने गरेको स्मरण उहाँमा ताजै छ । समयको परिधि नहुने सवालजवाफमा बालविवाह गर्नु हुँदैन । यसले समाजलाई हानि गर्छ । छोराछोरी पढाउनुपर्छ । सक्षम बनाउनुपर्छ र उनीहरूलाई नै विवाहको निर्णय गर्न सक्ने बनाउनुपर्छ भन्ने सन्देश प्रवाह गरेपछि गीत सकिन्छ ।

कोशी प्रदेशसभा सदस्य तारा ढकाल प्रमुख अतिथि रहनु भएको कार्यक्रमको औचित्यमाथि प्रकाश संस्थाका सचिव लक्ष्मीकुमार चौलागाईँ र संस्थाको बारेमा अधिवक्ता नारयणप्रसाद चौलागाईँले प्रष्ट पार्नुभएको थियो ।

संस्थाका कार्यावहाक अध्यक्ष टेकनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाकी कोषाध्यक्ष तारा गौतम दाहाल र स्वागत तारा दाहाल खरेलले गर्नुभएको थियो । कार्यक्रममा बालकुमारी (मैया)बास्तोला चेलीको विलौना बोलको गीत प्रस्तुत गर्दा सहभागी सवै मन्त्रमुग्ध भए । धर्म भण्डारी महेन्द्र गौतमलगायतले तीज सम्बन्धि गीत र सहभागीहरुले तीजका गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

Exit mobile version