२६ कात्तिक मेचीनगर : नेपाली साहित्यका एक मूर्धन्य महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १५ औँ जन्मजयन्ती आइतबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँएको छ । आफ्ना कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पु¥याएको योगदानलाई स्मरण गर्दै हरेक वर्षको लक्ष्मी पूजाको दिन नेपालसँगै भारतको दार्जिलिङ सिक्किम जस्ता नेपाली भाषीको बाहुल्य क्षेत्रमा देवकोटाको जन्मजयन्ती धुमधामका साथ मनाउने गरिन्छ ।
विसं १९६६ साल कात्तिकको औशीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साईलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गर्नुभएको थियो । यहि अवसरमा झापाको मेचीनगरमा समेत विविध कार्यक्रम गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १५ औँ जन्मजयन्ती मनाईएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १५ औँ जन्मजयन्ती समारोह समिति देवकोटा पार्क व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
मेचीनगर-६ काँकरभिट्टास्थित देवकोटा पार्कमा रहेको महाकवि देवकोटाको पूर्णकदको शालीकमा माल्यर्पण गरी शुरु भएको कार्यक्रममा महाकविको कृतित्व तथा व्यक्तित्वको चर्चा, कविता बाचन, शुभकामना तथा विविध कार्यक्रम सहित नगरवासीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मरण गरेका थिए । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्राध्यापक डाक्टर गंगाप्रसाद अधिकारीले व्यानर वाचन गरेर गर्नुभएको थियो ।
आयोजक महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १५ औँ जन्मजयन्ती समारोह समितिका संयोजक बालकृष्ण थापाको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार चुडामणि बशिष्ठले महाकवि देवकोटाको कृतित्व तथा व्यक्तित्वको चर्चा गर्नुभएको थियो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कने र उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइने साहित्यकार बशिष्ठले स्मरण गराउनुभयो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवातकर्ता देवकोटा राण शासनको समयमा जनताले समेत अध्ययन गर्न पाउनुपर्ने क्रान्ति गरेबापत पटक पटक जेल समेत पर्नुभएको र २०१५ सालमा गठित पहिलो जनप्रतिनिधिमूलक सरकारको शिक्षा मन्त्री पनि बन्नुभएको उहाँले चर्चा गर्नुभयो । नेपाली साहित्यमा महाकवि देवकोटाले पुर्याउनुभएको योगदानको चर्चा गदैं साहित्यकार बशिष्ठले देवकोटाले १० वर्षको उमेरमा कविता लेख्न शुरु गरेको, महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता लेखेर उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभएको स्पष्ट पार्नुभयो । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ ।
वि. सं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य अध्यापनको विषयका रूपमा लागू गराउनु भएको थियो । देवकोटाको कवितायात्राको पूर्वार्द्धकालीन कविता संग्रहहरूमा ‘भिखारी’ कविता संग्रहलाई, काव्य खण्ड काव्यहरूमा ‘मुनामदन’ खण्डकाव्यलाई र महाकाव्यहरूमा ‘शाकुन्तल’ महाकाव्यलाई प्रतिनिधिमूलक कृतिको रूपमा लिने गरिन्छ ।
कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डाक्टर गंगाप्रसाद अधिकारी, विशिष्ट अतिथिहरु संविधानसभा सदस्य रविन कोइराला, कोशी प्रदेशसभा सदस्यद्वय गोपाल तामाङ, सविना बजगाईँ, मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, प्राज्ञ सदस्य मुनाराज शेर्मा, साहित्यकार पुण्यप्रसाद खरेल नेकपा एमाले मेचीनगर अध्यक्ष राजु पोखरेल, नेकपा माओवादी केन्द्रका मेचीनगर अध्यक्ष राजन चिमरिया, राष्ट्रिय स्वतन्त्र पार्टीका झापा जिल्ला अध्यक्ष उमेश खरेल, जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, राप्रपा मेचीनगर उपाध्यक्ष होम विष्ट, पूर्व जनप्रतिनिधि डिल्लीराम घिमिरेलगायतले महाकवि लक्ष्मीप्रसाद देवकोटा विना नेपाली भाषा र साहित्य कल्पना पनि गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँहरुले देवकोटा पार्कको विगत र वर्तमान अवस्थाका बारेमा समेत चर्चा गर्नुभयो ।
कार्यक्रममा मीना अधिकारी, तुलसीप्रसाद भट्टराई, हरिनारायण भट्टराई, दुर्गाप्रसाद सिग्देल, कनकबहादुर कार्कीलगायतले आ आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो । कलाकार मात्रिकाप्रसाद संग्रौलाले सहनाई बजाएर सहभागीलाई आनन्दित बनाउँनुभयो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १५ औँ जन्मजयन्ती समारोह समितिका सचिव शेखर थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश खरेलले पार्कको विषयमा र उपाध्यक्ष प्रविन बानियाँले शब्दमार्फत स्वागत गर्नुभएको थियो । देवकोटाको निधन २०१६ साल भदौ २९ गते क्यान्सर रोगका कारण भएको थियो ।


















