डोटी , माघ १२ । डोटीको एक सामुदायिक विद्यालयमा एउटै कक्षामा २०८ जना विद्यार्थी छन् । नियमानुसार पहाडी जिल्लामा एउटा कक्षामा ४५ जना विद्यार्थी हुनुपर्छ ।
जिल्ला सदरमुकाम सिलगढीमा रहेको जिल्लाकै पुरानो सामुदायिक विद्यालय पद्म पव्लिक माध्यमिक विद्यालयको कक्षा ९ मा २०८ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक गीता जोशीले जानकारी दिइन् ।
‘विद्यार्थी संख्या धेरै छ, विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कम छ’ आइतबार विद्यालयले आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा बोल्दै प्रअ जोशीले भनिन्, ‘भएको जनशक्ति र भौतिक पूर्वाधारले विद्यार्थीको चाप धान्नै मुस्किल भएको छ ।’
विद्यालयमा आधारभूत तहमा ३८८ र माध्यमिक तहमा ७२४ गरी एक हजार २१२ जना विद्यार्थी रहेका छन् । ‘तल्लो कक्षाहरुमा त कमै छन् तर माथिल्लो कक्षामा विद्यार्थी संख्या धेरै भयो,’ प्रधानाध्यापक जोशीले भनिन्, ‘सामुदायिक विद्यालयमा सिट संख्या तोक्न पनि नहुने, समस्या भएको छ ।’

















