२३ जेठ, विराटनगर : कोशी प्रदेश स्काउट कार्यालयको आयोजना एवं सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको आर्थिक व्यवस्थापनमा २०८१/०२/१८ गतेदेखि संचालित आधारभूत स्काउट तालिम (५७० र ५७१ औं वि. टि. सि तथा ४२२ र ४२३ औं पि.टि.सि.) आज सम्पन्न भएको छ ।



समापन समारोहमा कोशी प्रदेशका माननीय प्रदेश स्काउट संरक्षक एवं मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशका सबै विद्यालयमा स्काउट संचालन गर्न निर्देशन दिदै प्रदेश सरकारले आवश्यक सबैखाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि कोशी प्रदेशका माननीय प्रदेश प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री पाँचकर्ण राईले स्काउट गतिविधि एवं कार्यक्रमहरु संचालन गर्न मन्त्रालयको तर्फबाट आवश्यक कार्यक्रम एवं बजेटका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै युवा र बालबालिकाहरुको चौतर्फी विकासका लागि स्काउट सहयोगी हुने कुरा बताउनुभयो ।

तालिममा कोशी प्रदेशका ५६ वटा स्थानीय तहका ८१ वटा सामुदायिक माध्यमिक विद्यालयका १०५ जना शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल स्काउटका राष्ट्रिय सहप्रमुख आयुक्त किरण गिरी, राष्ट्रिय कार्यकारी समिति सदस्य (आयुक्त) रवि खनाल, सामाजिक विकास मन्त्रालय, योजना तथा अनुसन्धान शाखाका अधिकृत यादव प्रसाद दुलाल, प्रदेश कार्य समितिका आयुक्तहरु, प्रदेश परिषद् सदस्यहरु, स्काउट लिडरहरु, रोभर/ रेन्जरहरुको उपस्थिति रहेको थियो ।

तालिमको कोर्स लिडर पुरुषतर्फ राष्ट्रिय प्रशिक्षक योगेश हाडा र सत्यनारायण शाही एवं महिलातर्फ सहायक राष्ट्रिय प्रशिक्षक सिवानी देवान र रिना राजभण्डारी रहनुभएको थियो ।
सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद महाशाखाका शाखा प्रमुख उप- सचिव फणिन्द्र खत्रीले अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन प्रदेश अधिकृत नवराज घिमिरेले गर्नुभएको थियो ।






















