६ साउन, मेचीनगर : हव डिजिटल मिडिया प्रालिको सञ्चालक समितिको अध्यक्षमा पुनः उदयकुमार श्रेष्ठ चयन भएका छन् । प्रालिको सोमबार सम्पन्न शेयर सदस्यहरुको बैठकले पुनः श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । सञ्चालक सदस्यहरुमा सुजन प्रधान, लक्ष्मीप्रसाद उप्रेती, रीता थापा,र मेरिना प्रधान छन् । बैठकले दुर्गाबहादुर लुइटेललाई कम्पनीको सचिवमा नियुक्त गरेको छ ।
कम्पनीका अध्यक्ष उदयकुमार श्रेष्ठको सभापतित्वमा बसेको उक्त बैठकले आगामी वर्षको वार्षिक बजेट, खर्च व्यवस्थापन र सञ्चालक समितिको पुनर्गठन लगायतका विषयमा विस्तृत छलफल गरेको थियो।
हव डिजिटल मिडिया प्रा.लि.ले मेरो मेचीनगर डट कम अनलाइन समाचार पोर्टललाई नियमित रूपमा सञ्चालन गर्दै आएको छ। बैठकले अनलाइन मिडियालाई आगामी दिनमा अझ चुस्त, दुरुस्त, निष्पक्ष, निडर र विश्वसनीय बनाउँदै अगाडि बढाउने निर्णय पनि गरेको छ।
विशेष बधाई तथा सम्मान
बैठकले कम्पनीका अध्यक्ष उदयकुमार श्रेष्ठलाई रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल-भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टा का लागि सन् २०२५/२६ को अध्यक्षमा चयन भएकोमा बधाई दिएको छ।
त्यसैगरी, सञ्चालक सुजन प्रधानलाई “Region Seven” का लागि Joint District Secretary मा चयन गरिएकोमा र कम्पनीका सचिव दुर्गाबहादुर लुइटेललाई नेपाल स्काउट राष्ट्रिय कार्यसमितिको निर्णयअनुसार ७४औं स्थापना दिवसको मूल समारोहमा मिडिया अवार्ड प्राप्त गरेकोमा हार्दिक बधाई ज्ञापन गरिएको छ। बैठकले सबैलाई सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ।

























