काठमाडौँ : देशभर चलिरहेको आन्दोलनका कारण मंगलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझदेखि पुनः सञ्चालनमा आएको छ। विमानस्थल खुलेसँगै अहिले यहाँ यात्रुहरूको बाक्लो भीड लागेको छ।
विमानस्थल सुरक्षा समितिको बैठकले बन्द भएको विमानस्थललाई पुनः सञ्चालन गर्ने निर्णय गरेपछि यात्रुहरूको चहलपहल बढेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले बताएका छन्। पाण्डेका अनुसार, आन्दोलनका कारण मंगलबार दिउँसो ३:३० बजेदेखि विमानस्थल बन्द गरिएको थियो।
विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्ना टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन आग्रह गरेको छ। आन्दोलनले उडान तालिकामा पार्ने प्रभावका कारण यात्रुहरूलाई थप जानकारीका लागि आफ्नो एयरलाइनसँग सम्पर्कमा रहन सुझाव दिइएको हो।

















