काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले देशभरको सुरक्षा स्थितिलाई ध्यानमा राख्दै बैङ्क तथा वित्तीय संस्थाहरूलाई सीमित कर्मचारीमार्फत अत्यावश्यक बैङ्किङ र डिजिटल भुक्तानीसम्बन्धी सेवाहरू सञ्चालन गर्न निर्देशन दिएको छ। नेपाली सेनाले भदौ २५ गतेदेखि जारी गरेको निषेधाज्ञाको व्यवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो।
राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको सूचनामा सम्पूर्ण बैङ्क, विकास बैङ्क, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई व्यवसायिक निरन्तरता कायम राख्न भनेको छ।
सूचनामा भनिएको छ, “बैङ्क तथा वित्तीय संस्थाले आफ्ना संवेदनशील प्रणाली सीमित कर्मचारीमार्फत सञ्चालन गरी अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नुपर्नेछ। अन्य प्रणालीमा भने जोखिमको आधारमा रिमोट एक्सेसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ,”। यसले विषम परिस्थितिमा पनि नागरिकलाई वित्तीय सेवामा पहुँच सुनिश्चित गर्न खोजिएको देखिन्छ।

















