जेन-जी आन्दोलनको छानबिनको माग गर्दै युवा संगठनहरूद्वारा संयुक्त विज्ञप्ति जारी

काठमाडौँ : ‘जेन-जी’ को आह्वानमा भएको आन्दोलनका क्रममा भएको क्षतिप्रति गम्भीर ध्यानाकर्षण गर्दै प्रमुख युवा संगठनहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। नेपाल तरुण दल, राष्ट्रिय युवा संघ नेपाल, वाइसिएल नेपाल, युवा संघ नेपाल र अखिल नेपाल युवक संघका अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनमा भएको मानवीय क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।

विज्ञप्तिमा आन्दोलनका क्रममा हालसम्म ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते भएको तथ्याङ्क उल्लेख गर्दै यस स्तरको क्षतिलाई ‘दुःखद, हृदयविदारक र निन्दनीय’ भनिएको छ। युवा नेताहरूले मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रमुख मागहरू
युवा संगठनहरूले आन्दोलनसँग सम्बन्धित घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कानुनी कारबाहीको माग गरेका छन्। विज्ञप्तिमा उनीहरूले ‘जेन-जी’ का प्रमुख मागहरू- भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शी शासन, न्याय र जवाफदेहिता-प्रति पूर्ण समर्थन व्यक्त गरेका छन्। भ्रष्टाचारका मामिलामा प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी रूपमा सजाय दिनुपर्नेमा उनीहरूले दृढता देखाएका छन्।

तोडफोडको निन्दा र सुरक्षामा प्रश्न
विज्ञप्तिमा प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि अवाञ्छित तत्वले जारी राखेका आगजनी, विध्वंस, तोडफोड, हिंसा र लुटपाटका घटनाहरूको कडा निन्दा गरिएको छ। यस किसिमका घटनाहरूलाई रोक्न सुरक्षा निकायहरूले आवश्यक कदम नचालेको भन्दै छानबिनको माग पनि गरिएको छ।

आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन स्थानीय स्तरमा सुरक्षा समितिहरू गठन गर्न पनि विज्ञप्तिमार्फत अपिल गरिएको छ। विज्ञप्तिमा नेपाल तरुण दलका सभापति विद्वान गुरुङ, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, वाइसिएल नेपालका अध्यक्ष पुष्प ओली, युवा संघ नेपालका अध्यक्ष रोशन थापा र अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारीले हस्ताक्षर गरेका छन्।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.