२८ असोज, मेचीनगर : मालपोत तथा नापी कार्यालयलगायत विभिन्न सरकारी अड्डामा लेखापढी व्यवसाय गर्दै आएका व्यवसायीहरुले आफ्नो पेशा संकटमा परेको गुनासो गरेका छन् । नेपाल लेखापढी कानून व्यवसायीहरुको पेशा संकटमा परेको भन्दैं लेखापढी व्यवसायीको गुनासो सुनिन् थालिएको छ । लेखन्दास हुँदै लेखापढी व्यवसायी र अहिले लेखापढी कानून व्यवसायीको रुपमा स्थापित पेशा संकटमा पर्दा संयौको पेशा संकटमा परेको उनीहरुको गुनासो छ ।
आर्थिक मन्दी, देशको अस्थिर राजनीति, नोवल कोराना भाईरस, २०७२ सालको महाभूकम्प, भरखरै भएको ‘जेनेरेशन जेड’ जेन—जीका नव पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टचारको अन्त्य र सुशासनको मागसहित भदौं २३—२४ कोे प्रदर्शनलगायतका कारण आफ्नो पेशा संकटमा परेको सम्बद्ध व्यवसायीहरुको भनाई छ ।
नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन भद्रपुर शाखाका अनुसार एशोसिएशनमा तीनसयको हाराहारीमा दर्तावाला व्यवसायी भएपनि पछिल्लो समय थुप्रैले बैकल्पिक पेशा रोज्न थालेको संघका उपाध्यक्ष प्रकाश निरौलाले जानकारी दिए । दर्तावाला वाहेक अन्य पनि यो पेशामा थिए । शुरुमा यस पेशाप्रति व्यवसायीहरुको निक्कै आर्कषण भएपनि पछिल्लो समय व्यवसायबाट गुजरा चल्ने अवस्था नरहेपछि पुराना तथा नयाँ व्यवसायीहरु अन्य पेशाप्रति पलायन भएका छन् ।
‘अब यो पेशाबाट हामी सन्तुष्ट हुने अवस्था रहेन’ उपाध्यक्ष निरौलाले भने,‘ विगत दुईवर्षदेखि यससँग सम्बन्धित कारोवार निक्कै ओरालो लागेको छ । जव कि हामी यो व्यवसायबाट मात्रै घरबार चल्छ भन्नेमा अब पुग्न छाडियौं । ’ हरेक वर्ष जग्गाको कारोवार ओरालो लाग्दैं गएको उनले बताए । जग्गा सम्बन्धित कारोवार चौपट्टै भएपछि नेपाल लेखापढी कानून व्यवसायीहरुको पेशा समेत धराशायी बनेको उनको भनाई छ । हरेक वर्ष एउटा फर्मले २६ सय बढी लिखत पास गर्ने गरेको भएपनि पछिल्लो समय एकहजार छ सय ५० वटामात्र लिखत पास भएको र आर्थिक वर्ष २०८१-०८२ मा त एकहजार ६ सयमात्र लिखत पास भएको उनले जानकारी दिए । यो पेशाबाट प्रत्यक्ष अप्रत्यक्षरुपमा तीनसयभन्दा बढीले रोजगार प्राप्त गरेको भएपनि अब यसबाट गुजरा चल्ने अवस्था नदेखेपछि २५ देखि ३० प्रतिशत व्यवसायी अन्यत्र पलायन भएको निरौलाको भनाई छ । ७० को दशकतिर जग्गालाई जसरी हेरिन्थयो अहिले त्यो पुरै घटेको उनको अनुभव छ ।
‘२०७२ सालको महाभूकम्पपछि थला परेको नेपालको हरेक क्षेत्रलाई कोभिड १९ ले झन थला पार्यो ’ डेढदशक अघिदेखि यो पेशामा आएका निरौलाले भने, ‘ हाम्रा जस्ता अन्य व्यवसायीहरुको व्यवसाय पुरानै लयमा फर्किन नसकेको अवस्था ,आर्थिक मन्दी, नेपालको अस्थिर राजनीति र जेन— जीको भदौं २३—२४ कोे प्रदर्शनलगायतका कारण पेशा संकटमा फस्यो । अब भने यो पेशाबाट गुजरा चलाउन सक्ने अवस्थामा नरहेको उनको भनाई छ । एशोसिएशनका कोषाध्यक्ष डिल्लीराम अधिकारीले यो पेशाबाट जीवन धान्न सक्ने अवस्था नरहेको प्रतिक्रिया दिए । ‘केहीवर्ष अघिसम्म हाम्रो आम्दानीको मुख्यः स्रोत नै लेखापढी कानून व्यवसाय थियो’ उनले भने,‘ अब भने त्यति सहज छैन् । कारोवार ठप्प छ, दिनप्रतिदिन व्यवसाय ओरालो लाग्दैंछ, हामी अहिले जटिल मोडमा छौ । ’ आर्थिक वर्ष २०७४- ०७५ देखि व्यवसाय क्रमस घट्दो रहेको उनको अनुभव छ । पुराना र नयाँ पुस्ताका झण्डै १० देखि १५ प्रतिशत व्यवसायी अहिले एशोसिएशनको सम्पर्कमा नरहेको, धेरै त वैदेशिक रोजगारका लागि विदेशिएका, कतिले वैकल्पिक पेशा रोजेको कोषाध्यक्ष अधिकारीले बताए ।
श्रीकृष्ण लेखापढी फार्मका सञ्चालक समेत रहेका अधिकारीसँगै पाँचजना व्यवसायी सम्बद्ध छन् । तर, फार्ममा काम चाप घटेपछि निक्कै फूसुर्दिला बन्नु परेको छ । अधिकारीको फार्मबाट हरेक वर्ष १२ देखि १३ सयसम्म लिखत पास हुने गरेको भएपनि गत आर्थिक वर्ष २०८१-०८२ मा तीनसयवटा मात्र लिखत पास गरेको पीडा सुनाए । खासगरी अमेरिका, अष्ट्रेलिया, जापानलगायतका देश पुगेका नेपाली उतै बस्न रुचाउँने, नेपालमा जग्गा जमीन नजोड्ने खाडीमुलुक गएकाहरुसँग पर्याप्त पैसा नहुने गरेका कारण पनि यो समस्या आएको अधिकारीको अनुभव छ ।
कति व्यवसायीले भने व्यवसायीहरु प्रविधिमैत्री बन्न नसक्दा पनि व्यवसाय संकटमा परेको विचार राखेका छन् । मालपोत कार्यालयमा अनलाइन भुसेवा प्रणालीजस्तै अन्य सरकारी कार्यालय प्रविधिमैत्री भएपछि प्रविधिलाई पछछ्याउन नसक्दा यो पेशा संकटमा पर्न लागेको नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनका पूर्व केन्द्रीय सदस्य रमेश पोख्रेलले बताए । नयाँ प्रणालीले पुराना पुस्ताको पेशा संकटमा पार्न लागेको उनले बताए । कम्प्युटर सम्बन्धि ज्ञान नभएका पुराना पुस्ताको लागि भने यो पेशाबाट गुजरा चलाउँनै समस्या रहेको बताइएको छ । नयाँ पुस्ताले नवीन प्रविधिमा काम गर्नुपर्ने उनको भनाइ छ । समायनुकुल परिवर्तन हुन नसक्ने व्यवसायी विस्थापित हुनुपर्ने अवस्था आएको बताउँदैं पोख्रेलले भने, ‘अग्रज व्यवसायीको संरक्षण गर्दै नयाँ पुस्तालाई यो पेशाप्रति आकर्षित गर्नु आजको आवश्यकता छ । ’ यदि प्रविधिलाई सँगै लिएर नजाने हो भने लेखापढी व्यवसायीले पेशाबाट हात झिक्नुपर्ने अवस्था आउन सक्ने बताईएको छ ।
‘यो व्यवसाय कोरोनापछि मुलुकमा आर्थिक मन्दिका कारण खस्केको अवस्था थियो’ नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशन भद्रपुर झापाका पूर्व अध्यक्ष समेत रहेका पोख्रेलले भने,‘ सरकारले जग्गा वर्गीकरणका नाममा सो अघि कित्ताकाट रोक, वर्गीकरणका नाममा धेरै समय स्थानीय तहले वर्गीकरण नगर्दा जग्गा पास रोक्का हुनुको कारणले पनि जग्गा किनबेच नहुँदा पेशा खस्किएको, हाम्रा छोराछोरी पुस्ता स्वदेशमा नबस्ने अध्ययनका नाममा विदेश गएर बसेका कारण स्वदेश नफर्कदा जग्गा किन बेच नहुनुले पनि पछिल्लो समय लेखापढी कानून व्यवसायीहरुको यो पेशा संकटमा परेको हो । ’ समग्र राजनीति धमिलो भएका कारण पेशा र व्यवसायीहरुलाई प्रत्यक्ष मार परिरहेको उनको भनाई छ । ‘मुलुकमा स्थायी सरकार र भरपर्दाे विश्वासिलो सरकार नहुँदा लगानीप्रति नैरश्यता छाएको छ । बैंकहरु लगानी गर्न तयार छैनन् ।’ उनले भने ।
सरकारले कृषिका लागि ठोस नीति नल्याएका कारण कारण बेला बखत समस्या हुने भन्दैं पोख्रेलले समयमा मल बीउ उपलब्ध नगराउने उत्पादन भएका वस्तु बिक्री वितरणका लागि सरकारले कुनै कार्य नगर्दा कृषकहरुले खेतीपाती नै गर्न छाडेको बताए । कृषकले खेतीपाती नै गर्न छाडेपछि जग्गा जमीन खरिद विक्री नै हुन छाडेको छ । खेती किसानी नगर्दा जग्गा जमिन खरिद नगर्नु पनि पेशा संकटमा पर्नुको प्रमुख कारण हो ।
भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाका मालपोत अधिकृत मोहन दर्जी पछिल्लो समय कार्यालयमा सेवाग्राहीको चहलपहल न्यून रहेको बताउँछन् । ‘चाडपर्वका बखत निक्कै टाढा टाढा रहेका मानिस पनि आफ्नो पुख्र्याेली घर फर्किने, त्यही बेला आफ्नो जे जति जग्गा छ, त्यको अंशावण्डा, बेचबिखनलगायतका काम गर्ने गर्दर्थ’उनले भने, यो साल यस्तो देखिएन् । दशैपछि असोज २२ गते १७ वटा, २३ गते ४० वटा जग्गा पास भएका छन् । मालपोत अधिकृत दर्जीका अनुसार भदौ २३ गते ४० वटा ,२२ गते २९ र २५ गते एउटामात्र पास भएको छ ।

















