पूर्वी नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा आज बिहानैदेखि तीव्र तनाव उत्पन्न भएको छ। नेपाली भूभागभित्र छिरेर भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गस्ती तथा अनधिकृत गतिविधि बढाएको भन्दै सुस्ताका स्थानीय बासिन्दाहरू प्रतिकारमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको हो।
स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार भारतीय एसएसबीका हतियारधारी जवानहरू नेपाली सीमाभित्र प्रवेश गरेर स्थानीयलाई त्रसित बनाउने र गस्ती गर्ने कार्य गरेपछि परापूर्वकालदेखि सीमा रक्षा गर्दै आएका सुस्तावासीले सामूहिक रूपमा विरोध र प्रतिकार गरेका थिए। घटनापछि सुस्ता क्षेत्रमा दुवै पक्षबीच भनाभन हुनुका साथै आवागमन पूर्ण रूपमा प्रभावित भएको छ। सीमा क्षेत्रमा सुरक्षा अवस्था संवेदनशील बनेपछि नेपालका तर्फबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको उपस्थिति बढाइएको छ।
स्थानीय प्रशासन मूकदर्शक बनेको भन्दै आक्रोश
यता, स्थानीय प्रशासनले भने घटनाबारे प्रारम्भिक जानकारी संकलन भइरहेको र वस्तुस्थिति बुझ्ने प्रयास भइरहेको परम्परागत जवाफ दिएको छ। तर, आफ्नो भूमि संरक्षणका लागि ज्यानको बाजी थापेर लड्दै आएका सुस्तावासीले भने यति ठूलो राष्ट्रिय संवेदनशील विषयमा पनि स्थानीय प्रशासन बेखबरजस्तो बनेको भन्दै कडा आक्रोश र गुनासो पोखेका छन्। सुस्तामा वर्षौँदेखि भारतीय पक्षबाट हुँदै आएको यस्तो थिचोमिचो र अतिक्रमण प्रयासलाई दीर्घकालीन रूपमा हल गर्न कूटनीतिक पहल हुनुपर्ने माग स्थानीयको छ।

























