झापा नाटक घर निर्माणमा सहयोग गर्ने शिक्षामन्त्री पोखरेलको प्रतिवद्धता

A notice in Nepali from Mechinagar Ward No. 10

सोमबार , २९ मङ्सिर, २०७७

तुलसीप्रसाद निरौला

बिर्तामोड । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले क्षितिज नाट्य समूह झापाको अगुवाईमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरलाई पूर्णता दिन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको अनुगमन तथा निरिक्षण गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
युरोपतिर सभ्यताको परिभाषा नै त्यस देशका वासिन्दा कति पटक नाटक हेर्न जान्छन् भन्ने कुराले निर्धारण गर्ने भएकाले नेपालमा पनि सभ्यताको सूचक नाटकलाई बनाउनु पर्नेमा उनले जोड दिए । आफू भ्याएसम्म नाटक हेर्न जाने गरेको वताउँदै उनले नाटकले समाजका विकृति विसंगतिको भण्डाफोर गर्ने बताए ।
काठमाडौं विश्वविद्यालयलाई आग्रह गरेर नाटक पढाउने ,संगीत पढाउने पाठ्यसामाग्री बनाउन लगाएको बताउँदै उनले क्षितिज नाट्य समूहलाई पनि पाठ्यक्रम विकाससंग जोडिन आग्रह गरे ।

सातवटै प्रदेशमा सातवटा संगीत र नाट्य विधाको एकेडेमी बनाएर त्यहाँको ऐतिहासिक , भाषा ,साहित्य ,संस्कृतिको संरक्षण र सम्वद्र्धन गरिने उनले बताए ।
क्षितिज नाट्य समूह झापाको अगुवाईमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरका लागि आफू काठमाडौं गएर संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईसंग कुरा गरेर यसलाई पूर्णता दिने उनले प्रतिवद्धता जनाए ।
रंग साहित्यको विकासका लागी क्षितिज नाट्य समूह झापाले खेलेको भूमिकाको प्रसंशा गर्दै उनले बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको निर्माण पूरा गरेपछि आफू चाँडै नाटक हेर्न आउने प्रतिवद्धता जनाए ।

त्यस्तै प्रदेश साँसद झलकसिंह दर्लामी सन्देशले बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेकाले यसलाई पूर्णता दिन आफू लागीपर्ने बताए ।
झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईले झापा नाटक घर निर्माणको उद्धेश्य ,लक्ष्य र भावी योजनाबारे प्रकाश पारेका थिए ।
क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले मन्त्री तथा साँसद दर्लामी हरुलाई झापा नाटक घर निर्माणमा भइरहेको प्रगतिवारे जानकारी गराएका थिए ।

बिर्तामोड–१ का मनोज निरौलाले निःशुल्क प्रदान गरेको साढे तीन कठ्ठा जग्गा र निरौलाकै छ कठ्ठा जग्गा १० वर्ष लिजमा लिएर दुई करोड ५० लाख रुपैयाँको लागतमा २०७६ साल असार ११ गते बहुजाति, बहुभाषि, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरको निर्माण शुरु गरेको र हालसम्म झापा नाटक घरको निर्माणको ५० प्रतिशत कार्य सकिएको उनले बताए ।
उनले झापा नाटक घर निर्माण गर्न आर्थिक वर्ष २०७७ /०७८ का लागि जग्गादाता मनोज निरौलाको अध्यक्षतामा ११ सदस्यीय झापा नाटक घर निर्माण उपभोक्ता समिति र नचानु विष्णु श्रीजङ्घा टोल विकास संस्थाका अध्यक्ष भोजकुमार मास्केको अध्यक्षतामा तीन सदस्यीय झापा नाटक घर निर्माण अनुगमन समिति गठन गरिएको बताए ।
उनले झापा नाटक घरको निमार्ण सकेर बहुजाति, बहुभाषि, बहुसांस्कृतिक संग्रहालयको निर्माण शुरु गरिने बताउँदै बहुजाति, बहुभाषि, बहुसांस्कृतिक संग्रहालयको लागि बहुवर्षे गुरुयोजनामा निर्माण हुनेगरी डीपीआर तयार गर्ने कार्य भइरहेको उनले वताए ।
अनुगमनमा बिर्तामोड नगरपालिकाकी उपमेयर पबित्रा महतारा प्रसाईं, बिर्तामोड –१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, सामाजिक व्यक्तित्व ज्योतीसिंह दर्लामी, झापा नाटक घर निर्माण उपभोक्ता समितिका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधव कल्पितले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.