१७ जेठ, मेचीनगर : इलाका प्रहरी कार्यालय काँकरभिट्टाले दुई महिनाको अवधिमा भारीमात्रामा लागूऔषध र त्यसमा संलग्न १९ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले कार्यालयको कमाण्ड सम्हालेयता उक्त परिमाणको लागूऔषध र व्यक्तिलाई पक्राउ गरेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार चैत महिनामा १ सय ४८ ग्राम खैरो हिरोइन, २ सय ५० एमएल कोरेक्स सहित ८ जना, वैशाख महिनामा ४२ ग्राम ८ सय ५० मिलिग्राम खैरो हिरोइन, डाइजिपाम, फेनारगन, लुपिजेसिक १ सय १७ एम्पुल सहित १० जना र जेठमा १ ग्राम खैरो हिरोइन सहित एकजना व्यक्तिलाई पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई कानुनी प्रक्रिया पुरा गरी आवश्यक अनुसन्धान थालिएको छ ।
पछिल्लो समय पूर्वीनाका लागू औषधको ट्रान्जिट प्वाइन्ट बन्दैं गएको र पूर्वमा लागूऔषध प्रयोग र कारोवार गर्नेको सख्या दैनिक बढ्दै गएको गुनासो बढ्न थालेपछि काँकरभिट्टा प्रहरीले यसमा निक्कै निगरानी बढाएको प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।
केहीवर्ष अघिसम्म यो नाका भएर गाजा र विभिन्न प्रकारका इञ्जेक्सन मात्र प्रहरीले पक्राउ गर्ने गरेको भए पनि पछिल्लो समय ब्राउन सुगर, हिरोइनजस्ता लागू औषधसमेत यसै नाकाबाट भित्रन थालेको र यस्तो धन्दामा युवा शक्तिको प्रयोग हुने गरेको प्रहरीको भनाई छ ।
लागूऔषधको कारोबारमा संलग्नहरुका अनुसार यस नाकाबाट भित्रियाईएका लागूऔषध पूर्वी पहाडी जिल्ला देखि पूर्वकै बिर्तामोड, दमक, ईटहरी धरान लगायत झापा जिल्लाकै गाउँ बस्तीमा समेत खपत हुने गरेको छ । यस नाकाबाट लागूऔषधमा संलग्न दैनिक १० देखि २५ जनासम्म प्रहरीको फन्दामा पर्ने गरेका छन् । काँकरभिट्टादेखि झण्डै २ किलोमिटर पूर्वको भारतीय पानीट्याङ्कीमा त्यस्ता पदार्थ सजहै उपलब्ध हुने भएकाले अधिकांश कारोबारी र सेवनकर्ता भारतीय बजार धाउने गरेको प्रहरीको भनाई छ ।
मेचीपुल लगायत ग्रामीणक्षेत्रका विभिन्न नाकामा व्युरोले प्रहरी तैनाथ पारे पनि कारोबारीहरुले कुनै न कुनै नाकाबाट कहिले शरीरका विभिन्न स्थानमा कहिले रिक्साका सीट अनि कहिले ज्याकेटको भित्री गोजीमा त कहिले शरीरका सम्वेदनशील अंगमा लुकाएर लागूऔषध ल्याउने गरेको लागूऔषध नियन्त्रण व्युरोले जनाएको छ । उत्तरमा झापा जिल्लाको सिमाना इलामको जिर्मलेदेखि दक्षिणमा मोरङ जिल्लासम्मको एकसय १८ किलोमिटर खुला बोर्डरको फाइदा उठाउदै कारोबार गरेपछि खुला सीमानै लागूऔषध नियन्त्रणको प्रमुख समस्या र प्रहरीको टाउको दुःखाईको विषय बनेको एकजना प्रहरी अधिकृतको भनाई छ ।
सीमामा सरोकार निकायले चेकजाँचलाई कडा पारेपनि खुला सिमानाको फाईदा उठाउदै यसमा संलग्नहरुले कुनै न कुनै नाका प्रयोग गर्दै लागूऔषध नेपाल भित्रियाउने गरेको प्रहरीको भनाई छ । लागूऔषध एैन २०३३ मा लागूऔषध उत्पादन, भण्डार, बेचबिखन तथा ओसारपसारमा संलग्नलाई दुई वर्ष देखि १५ वर्षसम्म कैद वा दुईलाख रुपैयाँसम्म जरिवना तथा प्रयोगकर्तालाई एक महिनाको कैद तथा दुईहजार रुपैयाँ जरिवाना हुने वा सुधार केन्द्र पठाउन सकिने कानुनी व्यवस्था छ ।


























