२२ चैत्र: आजदेखि शैक्षिक संस्थाबाहेक देशभरका सबै सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन हुने भएका छन्। सरकारले आइतबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको जनाएको छ।
पेट्रोलियम संकटका कारण दुई दिन सार्वजनिक बिदा
मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम आपूर्तिमा समस्या देखिएपछि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ। निर्णयसँगै सोही दिन राजपत्रमा सूचना प्रकाशित गरिएको हो।
हिउँदमा कार्यालय समय घटाइने
सरकारले कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू साँझ ४ बजेसम्म मात्रै सञ्चालन हुने व्यवस्था गरेको जनाएको छ।
नेपाल राष्ट्र बैंकको छुट्टै कार्यतालिका
यसैबीच, नेपाल राष्ट्र बैंकले आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि ४ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि ३ बजेसम्म कार्यालय सञ्चालन गर्ने गरी परिपत्र जारी गरेको छ।


























