काठमाडौं : काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
रिजाल जेनजी आन्दोलनका बेला काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए। उनीमाथि गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा बल प्रयोग गरी दमन गरेको आरोप लाग्दै आएको छ।
प्राप्त जानकारीअनुसार उनी तत्कालीन गृहमन्त्री रमेश लेखक निकट मानिन्थे। आन्दोलनपछिको घटनाक्रमपछि उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारी पदबाट एक महिनाभित्रै बाहिरिएका थिए।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजालमाथि कारबाही गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीर पूर्वगृहमन्त्री लेखकलाई यसअघि नै पक्राउ गरिसकिएको छ।
आन्दोलनका क्रममा सुरक्षाकर्मीले चलाएको गोलीबारे आयोगसमक्ष दिएको बयानमा रिजालले घुँडाभन्दा तल लक्षित गरी रबरको गोली प्रयोग गर्न मौखिक निर्देशन दिएको स्वीकार गरेका छन्। तर उनले सिधै गोली चलाउने अन्तिम आदेश भने नदिएको दाबी गरेका छन्।
रिजाल यसअघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखसमेत रहेका थिए। सो अवधिमा कर्मचारी सरुवा तथा व्यवस्थापनमा पेशागत आचरणविपरीत काम गरेको आरोप उनीमाथि लागेको छ।
अख्तियार दुरुपयोग अनुसंधान आयोगले समेत रिजालसँग सम्बन्धित विषयमा विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रियाअन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ। यस क्रममा गृह मन्त्रालयका केही अधिकारी तथा अन्य व्यक्तिहरूसँगको समन्वय र गतिविधिबारे पनि छानबिन भइरहेको बताइएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
























