काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार चैत २१ गतेदेखि लागू हुने गरी तेस्रो पटक म्याद थपको अनुमति दिएको हो। ज्यान सम्बन्धी कसुर (गत भदौ २३ को जेनजी आन्दोलन दमन) को अनुसन्धानका लागि उनीहरूलाई थप समय हिरासतमा राख्न आवश्यक रहेको प्रहरीको दाबीलाई अदालतले स्वीकार गरेको छ।
प्रहरीका अनुसार दुवै नेताको बयान कार्य सकिसकेको छ, तर थप प्रमाण बुझ्ने र अन्य अनुसन्धानका कार्यहरू बाँकी रहेकाले म्याद थप गरिएको हो। उनीहरूलाई चैत १४ गते बिहान आ–आफ्नो निवासबाट पक्राउ गरिएको थियो।
यसैबीच, ओली र लेखकले आफूहरूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा आइतबार सुनुवाइ भए पनि मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखिएको छ। भदौको आन्दोलनमा भएको क्षतिको छानबिन गर्न बनेको कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि यो कानुनी प्रक्रिया अघि बढेको हो।
























