किन बिरक्तिए काँसघारीमा तीर्थस्थल बनाउने दीनबन्धु ?

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी : २०६५ सालमा सुन्दहरैंचास्थित बुढी खोला किनारमा आश्रम बनाएर बस्ने निधो गरेका थिए दीनबन्धु शास्त्रीले । १४ वर्षको अन्तरालमा अहिले यो ठाउँ नयाँ वृन्दावन गौशालाका नामले चिनिने रमणीय तीर्थ बनेको छ ।

यहाँ पुर्वकै ठूलो राधाकृष्ण मन्दिर, आश्रम, गौशाला बनेको छ भने विभिन्न गोत्रका ऋषिहरुको प्रतिमा धमाधम स्थापना भइरहेका छन् । यस्तै शौचालय, खानेपानीका आवश्यक पुर्वाधारहरु बनेका छन् । फाउन्टेन पार्क बनेको छ भने नेपालकै ठूलो गाईको प्रतिमा निर्माणाधिन छ । गौशाला र गुरुकुल सञ्चालनमा छ । होली, बोलबम, शिवरात्री, कृष्णाष्टमी जस्ता अवसरमा यहाँ धार्मिक कार्यक्रमहरु नियमित हुने गरेको छ । यस्तै बुढी खोलामा इटहरीलाई जोड्ने गरी झोलुंगे पुल पनि बनिसकेको छ । वरीपरी घरहरु बाक्लिएका छन् ।

१४ वर्षअघि बुढी खोला किनारको उक्त ठाउँ काँसघारीले भरिएको थियो । एकातिर कटानको जोखिम, अर्कोतिर ढुंगा गिटी वालुवा उत्खननले बिरुप बनेको त्यो ठाउँमा आपराधिक प्रवृत्तीका मानिसको जमघट हुने गथ्र्यो । खासै चेतनशील नभइसकेको र बाटोघाटो राम्रो नपुगेको त्यो ठाउँमा क्रमिक विकाससँगै चेतनाको पनि विकास भयो । नयाँ वृन्दावन आफै पनि व्यवस्थित भयो । हेर्दाहेर्दै यो ठाउँ अहिले घुम्न, केही समय बिताउन अनि धार्मिक तथा सामाजिक कार्यक्रम गर्न लायक बनेको छ ।

यो सबै उपलब्धीका पछाडी १४ वर्षअघि त्यहाँ आएर बस्ने एक जना युवा साधु दीनबन्धु शास्त्रीको सक्रियता कारक हो । त्यसमा स्थानीयवासी अनि सामाजिक भावना भएका मानिसहरुसहितको ‘राधेश्याम सेवा ट्रष्ट’ नामक समितिले पनि मुख्य भूमिका खेल्यो ।

खोला किनारको काँसघारीलाई आज यो स्वरुपमा विकास गर्ने दीनबन्धु शास्त्रीले हालै एक कार्यक्रम गरेर आश्रम छाड्ने घोषणा गरेका छन् । फेसबुक लाइभसमेत गरेर उनले आफू बस्नै नसकिने अवस्था उत्पन्न भएको भन्दै हिसाब बुझेर आफूलाई बिदा गर्न आग्रह गरे । आधा घण्टा बढी समय लिएर आफ्ना कुरा राखेका उनले केही स्थानीयहरु र खोलासँग जोडिएका केही मानिसहरुको कारण काम गर्न नसक्ने भएपछि आश्रम छाड्नुपरेको बताए । सो क्रममा उनी पटक पटक भक्कानिए । उनले बोलिसकेपछि स्थानीयहरुले प्रतिक्रिया राखिरहँदा पनि उनी रोइरहेका थिए । आश्रमका साना ठूला कामहरुमा आफै भिडेर फत्ते पार्ने युवा साधु आफैले बनाएको ठाउँ छाड्ने गरी किन बिरक्तिए त ?

पटक पटक धम्की दिएर मनोबल गिराउने अनि विभिन्न समुहहरुबाट राजनीतिक, आर्थिक, सामाजिक, चारित्रिक लान्छाना लगाउने काम गरिएको उनको गुनासो छ । संस्था कसरी चल्दैछ भन्ने सोधिखोजी नगर्नेहरुले पछाडी विरोध र असहयोग गरेको, पाँच वर्षदेखि सञ्चालित गुरुकुल संरक्षण गर्न बनेको समितिले पनि सहयोग नगरेको भन्दै उनले आफू सबैको कसिंगर भएको अनुभव गरेको बताए ।

उनले आफूले पुराण भनेर ल्याएको पैसा र अन्न पनि आश्रमको लागि खर्चेको बताउँदै अहिले समिति भित्र र बाहिरका दाता तथा शुभेच्छुकहरुले किनिदिएको सवारीसाधनमा पनि धेरैले शंका गरेको बताए । ‘मैले कहिँ कसैको एक पैसा खाएको छैन, न त आश्रमको पैसाले नै गाडी किनेको हुँ,’ उनले भने, ‘म आफैपनि बिचमा बिरामी भएँ, दुर्घटनाका धेरै समाचारहरु सुनिरहँदा र हिडिरहनुपर्ने हुँदा गाडी प्रयोग गरेको हुँ ।’

भर्खर २५ वर्ष उमेर पुगेका शास्त्रीका लागि १४ वर्ष अघिका सुरुवाती दिनहरु सजिला थिएनन् । अनकन्टार खोला किनारमा आश्रम बनाएर बसिरहँदा सुरक्षाको चुनौति मुख्य थियो । आजको दिनमा पनि खोला दोहन गर्न खोज्ने मानिसहरुसँग उनी एक्लै भिडिरहेका छन् । ‘अन्धधुन्द खोलामा जेसिबी लगेर बालुवा निकाल्न थाल्छन्,’ उनी भन्छन्, ‘जहिले रोक्न कुद्नुपर्छ, कतिले सजिलै काम बन्द गर्छन्, कतिले भने धम्की दिन्छन् ।’

एक पटक यौटा सामान्य विषयमा क्रिश्चियनहरुको एउटा समुहले आश्रममा घेरा हालेर तोडफोड नै गर्यो । गाउँघरका विभिन्न समस्याहरु समाधान गर्ने क्रममा जोखिम मोलेरै पनि उनी सही विषय र व्यक्तिको पक्षमा उभिन्छन् । त्यसले पनि उनको सुरक्षा जोखिम बढाएको छ ।

‘कतिपय सामाजिक समस्याहरु र घटनाहरुमा चुप लागेर बस्दै सकिँदैन,’ उनी भन्छन्, ‘आज एउटालाई परेको समस्या भोलि अर्को हुँदै समाजले नै भोग्नुपर्छ भनेर म गलत कामको प्रतिवाद गर्दिन्छु ।’

त्यसैले आफ्नो पछाडी विभिन्न स्वार्थ समुहहरु लागि लागिपरेको उनको अनुभव छ । झन् केही दिनअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि विभिन्न समुहले उनको विरुद्ध प्रचार गरे, केही त राती घेराउ गर्ने हदमै पनि उत्रिए । राजनीतिक विसंगतीमा पनि आफ्ना धारणा राख्न पछि नपर्ने हक्की स्वभावले पनि शास्त्रीलाई राजनीतिक दलहरुले नकारात्मक सोच्ने आधार बनाएको स्थानीय बताउँछन् ।

‘काँग्रेसका मान्छे भन्छन्, शास्त्रीले एमालेलाई सघाए अनि काँग्रेस हार्यो, फेरी एमालेका मान्छे भन्छन्, काँग्रेसमा झुकाव राख्ने साधुलाई हराइयो,’ स्थानीय एक जनाले भने, ‘आश्रममा विभिन्न राजनीतिक आस्था राख्ने मानिसहरुको आवतजावतको विषयलाई लिएर पनि अनर्गल प्रचार गरेर विवादमा मुछ्ने काम भएछ ।’

शास्त्रीले आफ्नो जीवनको सबैभन्दा ऊर्जाशील समय खर्चेर नयाँ वृन्दावन गौशाला बनाएका हुन् भन्ने कुरामा दुई मत छैन । इटहरी र सुन्दरहरैंचा जोड्ने गरी आश्रम छेउमै एक वर्षअघि बनेको झोलुंगे पुलमा मानिसहरुको भीड लाग्न थालिसकेको छ । बलिया चोक हुँदै घुमेर जानुपर्ने इटहरीवासीको लागि पनि सहज पहुँच पुगेपछि आश्रम र त्यहाँ रहेको मन्दिरमा भक्तजनहरुको उपस्थिती झनै बढ्ने पक्का छ । अझ नेपालकै ठूलो गाइको प्रतिमा बनिसक्दा यो ठाउँ प्रदेशकै एक आकर्षक तथा मनोरम धार्मिक स्थल हुनेछ ।

आफैले दुःख गरेर बनाएको ठाउँ छाडेर जाने घोषणा उनले गरेपछि ट्रष्ट समिति र स्थानीयहरु भने चिन्तित बनेका छन् । शास्त्रीले आश्रम छाडेपछि उक्त ठाउँ चोरी भएरै आश्रम अस्तव्यस्त हुने चिन्ता स्थानीयवासी र ट्रष्टको छ । राखेका कर्मचारी वा अन्य पुजारीले पनि जिम्मेवारीपूर्वक काम नगर्ने हुन् कि भन्ने शंका छ । केही गरौं भन्ने सामाजिक भावनाको व्यक्तिलाई गुमाउन नहुने सामाजिक अगुवाहरुको भनाई छ ।

यी सबै प्रयासका बिचमा उनले भने खोलाको अनावश्यक उत्खनन रोक्न, सुरक्षाको लागि प्रशासन जिम्मेवार हुन, नियमित आम्दानीको व्यवस्थाका लागि सहयोग गर्न र बाँकी रहेका पुर्वाधार निर्माणमा सम्बन्धित पक्षले सक्रियता देखाउन आवश्यक ठानेका छन् । भनेका छन्, ‘आश्रम यसै ठाउँको सम्पत्ती हो, यसको संरक्षण र विकासका लागि यही ठाउँ अनि यहाँको सरकारले अपनत्व र अग्रसरता लियो भने दिगो हुनेछ ।’

न्यूजलयबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.