‘कालो बादल नीलो आकाशमा,
गए आमा चढेर जहाजमा,फर्के बाकसमा’
चलचित्र परदेशीको लागि गायिका उषा मगरले गाएको यो गीत आइतबार झापा मेचीनगरवासीले एक पटक सम्झिए । गायिका उषा मगरले भने झै सात पुरा गरेर आठवर्ष लागेछ झापा मेचीनगरका ५२ वर्षीय उपेन्द्रमणि भुजेल जहाज चढेर रोजगारका क्रममा मलेसिया पुगेको पनि । यतिका वर्षपछि छोरो आउने आशमा बसेको भुजेल परिवारले गएको भदौ १४ गते एकाएक नसोचेको पीडा व्यहोर्नु पर्यो ।
गएदेखि एकपटक पनि घर नफर्किएका उपेन्द्रको २०७८ भदौ १४ गते रोजगारीका क्रममा मलेसियामा निधन भयो । मृत्यु भएको ६ दिन पछि उपेन्द्र काठको बाकसमा स्वदेश फर्किए आफन्तलाई रुवाउदै । १९ गते विहान ७ बजेर ५५ मिनेट जादा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव आइपुग्ने पक्कापक्की भएपछि झापाबाट शव लिनका लागि उनको परिवार काठमाण्डौं पुगेको थियो । शव ल्याउने खवरले बिहानैदेखि उनको घरमा मानिसको ओहोरदोहोर बाक्लै थियो । मध्यरातमा निजी निवासमा उपेन्द्रको शव ल्याइपुर्याउदा सिङ्गो गाउँ भावह्विल बन्यो । हुनत् उपेन्द्रको गएको अगष्ट १७ तारीख नेपाल फर्किने टिकट थियो । तर, उनको स्वास्थ्यमा समस्या भएपछि उनी नेपाल आउन पाएनन् । अन्ततः उनको विदेशी भूमिमै ज्यान गयो ।
विदेश गएको छोरो बाकसमा कैद बनेर फर्किदा परिवार र आफ्न्तले आफूलाई थाम्न सकेनन् । कोही बाकसमा हेर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका थिए भने कोही परिवारजनमा सहानुभूति र समवेदना । कोही त्यही बाकसमा अंगालो हालेर सुमसुम्याउदै डाँको छोडिरहेका थिए । मृत्यु भएको झण्डै एकसातापछि उपेन्द्रको लास गाउँमा आउदा गाउँ नै शोकाकुल भएको छ । खाउँखाउँ लाउँलाउँ उमेरको छोरो हाँस्दै रमाउदै सबैजनासँग बिदा मागेर गएको अचानक बाकसमा कैद बनेर फर्किदा बाबु वीरबहादुरको मन थामिएको छैन । उनकी आमाको आँखा घटना सुनेदेखि ओभाएका थिएनन् । ‘सबैसँग बिदा मागेर चाडै आउने भन्दै गएको छोरो अब कहिल्यै नआउने गरी बिदा भयो ’ बाबु वीरबहादुरले भन्नुभयो— ‘हामीले त कल्पना पनि गरेका थिएनौ, यस्तो पीडा व्यहोर्नु पर्छ होला भन्ने ।’ धन कमाउन विदेश गएको छोरो काठको बाकसमा लास बनेर फर्के पछि उनको परिवारमा यतिखेर निक्कै ठुलो चोट परेको छ । कमाउन हिडेको छोरोको लास बाकसमा फर्किदा कुन आमाको मन थामिएला कल्पना पनि गर्न सकिन्न । झापा मेचीनगर—६ काँकरभिट्टाको तल्लो भानुटोल निवासी खवास मलेसियामा सुरक्षा गार्डका रुपमा ८ वर्षदेखि कार्यरत थिए । अस्ली सेक्यूरटिी सर्भिस क्वालाल्मपुरमा उपेन्द्र कार्यरत थिए ।
उनको मृत्युको खवर सुनेदेखि गाउँ सबै स्तब्ध र शोकमग्न थियो । सिङ्गो परिवार र गाउँले छोराको शवको प्रतिक्षामा थियो । बाकसमा उनको शव आउँदा सारा गाउँलेमा रुवाबासी मच्चियो । सोच्दै नसोचेको पीडा यतिखेर भानुटोलले व्यहोर्दैछ । छोराका मृत्युको खवर सुनेदेखि खवास परिवारको घरको चुल्होमा आगो बलेको छैन् । स्वर्गीय उपेन्द्रकी पत्नी हरिमायासहित ज्येष्ठ माता पिताका आँखाबाट आँसु रोकिएको छैन ।
आजभन्दा झण्डै आठवर्षअघि पैसा कमाउने, छोराछोरीलाई धेरै पढाउने उद्देश्यले उपेन्द्र मलेसिया पुगेका थिए । तर बिडम्बना उनको हृदयघातका कारण भदौ १४ गते मलेसियामा मृत्यु भयो । मध्यम वर्गाीय परिवारमा जन्मेका उपेन्द्रले नेपालमा बस्दा सम्म निक्कै संघर्ष गरे । कहिले सार्वजनिक सवारी साधनको सहचालक बने त कहिले सानो पसलसम्म चलाए । तर, यसबाट उनको घरको सवै गर्जाे टर्ने अवस्था नभएपछि विदेशभासिए ।
आफ्नो घरको आर्थिक समस्या कम गर्न पैसा कमाउन विदेश पुग्ने सबै नेपालीहरु भाग्यमानी हुँदैनन् । कतिले राम्रै संग पैसा कमाएर फर्कन्छन् भने कतिले विदेशी भूमिमा आफ्नो ज्यान गुमाउनु पर्ने हुन्छ । यस्तै एक प्रतिनिधि पात्र हुन् उपेन्द्र । वैदेशिक रोजगारीका लागि गएका उपेन्द्र अब कहिल्यै नफर्किने गरि बिदा भए । उनका १ श्रीमती १ छोरा र १ छोरी रहेका छन् । यी सँगै बाबुआमा समेत वृद्धअवस्थाका छन् । भाइ-बुहारी सहित उनी संयुक्त परिवारमा बसोबास गर्दै आएका थिए ।
उनका छोरा उत्सव भुजेल काठमाडौंँमा चार्टर एकाउन्टेन्ट पढ्दै छन् भने छोरी उरुषा भुजेल अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनरत छिन् । सामान्य आर्थिक अवस्थाका कारण विदेशीएका उपेन्द्रको निधनले घरपरिवारमा ठूलो क्षति पुगेको छ । छोराछोरी पढाउने हुर्काउने देखि बृवृद्धअवस्थाका सासु ससुराको रेखदेख देखि घरबार खर्च चलाउने जिम्मा अब उनकी श्रीमती हरिमायाको काँधमा आएको छ । स्वर्गीय उपेन्द्रको आइतबार स्थानीय मेची नदीमा अन्त्यष्टि गरिएको छ । देश रेमिटेन्सले नै चलेको छ । वार्षिक रुपमा आउने खर्बौ रुपैयाँ बराबरको रेमिटेन्स कै कारण अहिले देश धानिएको छ तर विदेश जाने र देश चलाउने ति युवाहरु भने रातो बाकसमा फर्कर्नु पर्ने बाध्यता छ ।
स्वदेशमा सुख नपाएर दु:ख गर्न विदेश पुगेका उनीहरु त्यहाँ पनि कम संघर्ष गर्न बाध्य छैनन् । हरेक युवाहरुको चाहना रोजगारीका लागि विदेश जानु नपरोस भन्ने नै हुन्छ । तर बाध्यताको अगाडि कसको के लाग्छ । अहिले देशले विदेश बाट युवाहरुले कमाएको रेमिटेन्स मात्र बुझिरहेको छैन । दैनिक रुपमा नेपाली युवा जवानको शव समेत बुझिरहन परेको दुःख लाग्दो अवस्था छ । अब देशले वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक छ ताकि कुनै युवाहरुले विदेश मा आफ्नो ज्यान गुमाउनु नपरोस । विदेशिएका यूवालाई सकुशल स्वदेश फर्काउन वातावरण बन्नै पर्छ, राज्य जिम्मेवार हुनैपर्छ ।
























