१७ चैत, मेचीनगर : झापाको मचीनगरमा बिहीबार विहान एउटा घरमा आगलागी हुँदा करीव ६ लाख रुपैयाँ मुल्य बराबरको धनमाल डढेर क्षति भएको छ । प्रहरीका अनुसार मेचीनगर ७ का चन्द्रबहादुर पौडेलको घरमा विद्युत सर्ट भएर विहान साढे ९ बजे आगलागी भएको थियो ।
आगलागीका कारण घरभित्र रहेका अन्नपात, इलेक्ट्रोनिस सामान, लत्ताकपडा , फनिचरका सामान, खाद्यन्नलगायत स्टिलका सामग्री डढेर करीव ६ लाख रुपैयाँ मुल्य बराबरका मालसामान क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
घर पूर्णरुपमा क्षति भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो एकघण्टा पछि नियन्त्रणमा आएको थियो । मेचीनगर नगरपालिकाको बारुणयन्त्र समयमा घटनास्थल पुगे पनि बाटो अभावका कारण फर्किएको स्थानीयको भनाई छ ।
बाटो साघुरो भएका कारण बारुणयन्त्र घटनास्थलसम्म पुग्न नसक्दा समयमै आगो नियन्त्रणमा आउन नसकेको र यति ठूलो क्षति भएको प्रहरीको भनाई छ । सामान्य मजदुरी गरेर गुजारा चलाउँदै आएका पौडेल दम्पति मजदुरीका लागि बाहिर गएका थिए । घरमा कोहि नभएका कारण पनि घटना समयमै थाहा पाउन नसकिएको हो । आर्थिक अवस्था ज्यादैं न्यून र फरक क्षमताका चन्द्रले आफुलाई सहयोग गरिदिन सबैसँग आग्रह गर्नुभएको छ ।
























