६ जेठ, मेचीनगर : मंगलवार बिहानको शान्त समय। बिहान ८:३० बजेतिर मेचीनगर–९, थोप्लेबिरानमा अचानक धुँवा उड्न थाल्यो। स्वस्तिका अधिकारीको घरबाट उठेको धुँवा केही मिनेटमै राेलिएको रापमा बदलियो। स्थानीयबासी अत्तालिए, चिच्याउँदै दमकललाई खबर गरे।
सबैभन्दा पहिले गुहार नगरपालिकाकै दमकललाई गरियो। पाँच किलोमिटरको दूरी मात्र, अपेक्षा थियो—चाँडै आइपुग्ला। तर, त्यो आशा ध्वस्त भयो। जबसम्म दमकल आइपुग्यो, अधिकारीको दुई तले घर डढेर झण्डै खरानी बनिसकेको थियो।
दमकल ढिला, आक्रोश उग्र
दमकलको साइरनले आशा होइन, आक्रोश उमार्यो। गाउँलेहरूले त्यसलाई उल्ट्याएर पठाइदिए। “बेलैमा खबर गरेका थियौं, तर पनि दमकल किन ढिला?” स्थानीयबासीहरूको सोझो प्रश्न थियो।
लोकेसनमै अलमल
साक्षीहरूका अनुसार, दमकल खुट्टिडाँगीतिरका सडकमा फन्फनी घुमिरहेथ्यो। दमकलका कर्मचारीहरू सही गन्तव्य पत्ता लगाउन नै समय खर्चिए। शहीद मार्ग निर्माणाधीन छ—जताततै खाल्डाखुल्डी, निर्माण सामग्री। अझ पीडादायी पक्ष के भने, दमकल चालकलाई यी बाटोबारे पूर्वजानकारी नै थिएन।
एक घण्टामै सर्वस्व स्वाहा
एक घण्टाभित्र अधिकारीको दुई तले घर लत्ताकपडा, अन्न, भाँडावर्तनसहित पूर्ण रुपमा डढ्यो। बचेको भनेको परिवारका सदस्यहरूले लगाएका लुगामात्र। प्रहरीको प्रारम्भिक मुचुल्का अनुसार, १० लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
नेपाल रेडक्रस सोसाइटी, धुलाबारी शाखाले त्रिपाल, लुगाफाटो, भाँडावर्तन लगायत राहत सामग्री प्रदान गरेको छ।
मुख्य कारण : पूर्वतयारीको अभाव
सडक निर्माणको अवस्थाबारे बेखबर दमकलकर्मीहरू र नगरपालिकाको कमजोर समन्वय नै घटनामा बेलैमा उद्धार नपुग्नुको मुख्य कारण देखिन्छ। दमकल जान नसक्ने गल्लीबारे पूर्व सूचना तयारी हुनु आवश्यक थियो।
नगरपालिकाले आफैंले अनुगमन गरिरहेको सडकमा आपत्कालीन सेवा कसरी सञ्चालन गर्ने भन्ने रणनीति नहुँदा, अधिकारी परिवारले आफ्नो घर आँखैअगाडि स्वाहा भएको देख्नुपर्यो।
अब गल्ती नदोहोरियोस्
थोप्लेबिरानको आगलागी एउटा चेतावनी हो—आपत्कालीन सेवा व्यवस्थापनमा सुधारको। नगरपालिकाले भौतिक पूर्वाधारसँगै आपतकालीन प्रतिक्रियामा पनि ध्यान दिन नसके, अर्को पटक थप ठूलो क्षति नहोला भन्न सकिन्न।
