१२ भाद्र, काठमाण्डौं : बाढी र पहिरोले देशैभरि पुनः बितण्डा मचाएको छ। हजारौं घर डुबानमा परेको छ। कैयौं पशु चौपायाहरू मरेका छन्। पहाडी जिल्लाहरूमा पहिरोले धनजनको क्षति पु¥याएको छ। तराईका बस्तीहरू बाढीले डुबेका छन्। घरमा बाढी पसेपछि स्थानीयहरू घरबारविहीन बनेका छ। शुक्रबार मात्र देशभरमा तीन जनाको मृत्यु भएको छ। चार जना बेपत्ता भएका छन्। दुई जना घाइते भएको प्रहरीले जनाएको छ।

महोत्तरीमा रातु खोलाको बाढीले बाँध भत्काउँदा वलवा—तिलगढमा ९ सय घर डुवानमा परेका छन्। ४ हजार ५ सय मानिस घरबारविहीन बनेका छन्। धनुषा र सिरहाको बीचबाट बग्ने कमला नदीमा पानी बढेपछि नजिकका बस्तीमा त्रास बढेको छ। चुरेबाट तराई भू—भागमा बग्ने एक सय ६४ नदीको चरम दोहनले बस्ती प्रभावित हुनुका साथै हजारौं विस्थापित छन्।
भारतले एकतर्फी रूपमा निर्माण गरेको तटबन्ध एवं बाँधका कारण तराई बर्सेनि जलमग्न हुँदै आएको छ। कैलाली र कञ्चनपुरका नदीमा पनि जलस्तर बढेको छ। कैलाली बाढीमा परेर एक वृद्धाको ज्यान गएको छ। लम्की चुहा नगरपालिका–६ गुलराकी ९० वर्षीया फुखिया थरुनीको चरेला नदीमा आएको बाढीले बगाएर ज्यान गएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख भरत शाहले बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
























