अनर्गल प्रचारमा नलाग्न र नगर्न मेचीनगरको आग्रह : नयाँ बारुणयन्त्रको खरिद प्रक्रिया शुरु भएको नगरप्रमुख आचार्यको भनाई

A notice in Nepali from Mechinagar Ward No. 10

२ फागुन, मेचीनगर : मेचीनगर नगरपालिकाको वारुणयन्त्रका विषयमा पछिल्लो समय आएका अनर्गल प्रचारमा नलाग्न र नगर्न मेचीनगर नगरपालिकाले सबैमा आग्रह गरेको छ ।
पछिल्लो समयमा नगरका विभिन्न वडामा भएका आगलागीका घटनामा नगरपालिकाको बारुणयन्त्र समयमै नपुग्ने गरेको, सधैभरि बिग्रिएर थन्किएको वा बारुणयन्त्र मर्मत तथा सम्भारका लागि खर्च अभाव भएको भन्ने गुनासो बढेपछि सोमबार नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय छलफलमा नगरप्रमुख विमल आचार्यले अहिले जसरी बजारमा वारुणयन्त्रका विषयमा भएको प्रचारमा सत्यता नभएको बताउनुभयो । ‘बजारमा दमकल विग्रीएर थन्किएर बसेको भन्ने प्रचार भएछ ’ नगरप्रमुख आचार्यले भन्नुभयो —‘वारुणयन्त्र इलामबाट आउँदा दुघर्टना भएको थियो हामीले बनाईसकेका छौ ।’ उहाँका अनुसार वारुणयन्त्र तयारी अवस्थामा रहेको छ ।
२० माघमा झापाको मेचीनगर—६ स्थित एसएस फूटवयेर जुत्ता उद्योगमा भएको आगलागीका बखत नगरपालिकाको बारुणयन्त्रमा समस्या भएका कारण नगरपालिकाले छिमेकी नगर तथा गाउँपालिकाहरु झापाको विर्तामोड, भद्रपुर, दमक नगरपालिका, कमल गाउँपालिका, मोरङको बेलवारी, कानेपोखरी, लेटाङ, उर्लावारी तथा इलामको सूर्याेदय नगरपालिका र भारतको पश्चिम बंगालबाट समेत बारुणयन्त्र मगाएर आगो नियन्त्रणमा लिइएको जानकारी गराउनुभयो ।
इलाममा भएको आगलागी नियन्त्रण गरेर फर्कने क्रममा मेचीनगरको वारुणयन्त्र दुघर्टनामा परेपछि तत्काल मर्मतका लागि पठाईएको र १८ दिन लगाएर मर्मत गरेर ल्याएको उहाँको भनाई थियो । त्यसपछि वारुणयन्त्र तयारी अवस्थामा रहेको र आयावारीमा, दुहागढीस्थित मगमग चाउचाउ उद्योग (मनषा थाइफुड्स) मा भएको आगलागी नियन्त्रणका लागि पुगेको जानकारी गराउनुभयो ।
आइतबार विहान मेचीनगर—६ भानु टोलका राजेश तामाङ र पासाङ तामाङको घरमा भएको आगलागीका घटनामा नगरपालिकाले विर्तामोड नगरपालिकाको बारुणयन्त्र मगाएर पठाएको नगरप्रमुख आचार्यले जानकारी दिनुभयो । त्यसबेला मेचीनगरपालिकाको वारुणयन्त्र सहित अन्य पालिकाका वारुणयन्त्र दुहागढीस्थित मगमग चाउचाउ उद्योगमा लागेको आगोलाई पूर्णरुपमा नियन्त्रणमा लिन खटिएका कारण नगरपालिकाले विर्तामोड नगरपालिकाको वारुणयन्त्र पठाएको जानकारी दिनुभयो ।
नगरमा दुईवटा वारुणयन्त्र भए पनि एउटा धेरै पुरानो भएको र अर्काे खरिदका लागि प्रक्रिया शुरु भएको उहाँको भनाई छ । स्थानीय सरकारले मेचीनगरमा नयाँ वारुणयन्त्र ल्याउन पहल गरिरहेको भन्दैं नगरप्रमुख आचार्यले नयाँ वारुणयन्त्र ल्याउने प्रक्रिया अघि बढिसकेको र खरिदका लागि प्रदेश सरकारसमक्ष कुरा भएको केही समयमै नयाँ वारुणयन्त्र आउने बताउनुभयो । मेचीनगरमा लगातार भइरहेको आगलागीका घटनाप्रति उहाँले दुःख व्यक्त गदैं आगलागीका घटना दैवी विपत्ति भएको भन्दै यस्ता घटना हुन नदिन आफूहरु संवेदनशील बनेको प्रष्ट पार्नुभयो ।
नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरपालिकाको वारुणयन्त्र खराव भएर मर्मत सम्भारकालागि पठाएको अवस्थामा नगरमा कहि कतै आगलागीका घटना हुँदा अन्य नगरपालिकासँग समन्वय गरेर वारुणयन्त्र मगाउने गरिएको जानकारी दिनुभयो । मेचीनगरको एउटा घटनामामात्र नगरपालिकाको वारुणयन्त्र नपुगेको र अन्य पालिकाबाट झिकाईएको उहाँको भनाई थियो । आवश्यकता परे जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर मित्रराष्ट्र भारतका विभिन्न स्थानबाट समेत दमकल बोलाउन सकिने उहाँको भनाई छ ।

छलफलमा नगर क्षेत्रभित्र उद्योगधन्दा, कलकारखाना एवम् अन्य ब्यवसाय सञ्चालन गर्दा आवश्यक पर्ने कार्यविधि तत्काल लागु गरी कार्यान्वयन गर्न गराउन मेची उद्योग वाणिज्य संघ एवम् अन्य सरोकारवालाहरुबीच थप सहकार्य एवम् समन्वय गर्ने, आगलागी लगायत अन्य विपद् जोखिम न्यूनिकरणका लागि पूर्वाधार निर्माण बाटोको मापदण्ड, घर नक्शा पास गर्दा आवश्यक मापदण्डलगायत अन्य प्राविधिक मापदण्डको पूर्ण पालना गर्न गराउन अझ प्रभावकारी व्यवस्थापन मिलाउने, आगलागीबाट हुने विपद् जोखिम न्यूनिकरण गर्न गराउन वारुणयन्त्र लाई सहज रुपमा पानी भर्न आवश्यक पर्ने ‘फायर हाइडे«न्ट’को विशेष गरेर शहरी क्षेत्रहरु (चारआली, धुलाबारी, इटाभट्टा, काँकरभिट्टा र बाहुनडाँगी) मा व्यवस्थापन गर्न गराउन तथा बिग्रिएका स्थानमा मर्मत सम्भार गर्न खानेपानी उपभोक्ता संस्थाहरुसँग सहकार्य समन्वय गर्नेलगायतका विषयमा कुराकानी भएको थियो ।

मेचीनगरको धुलाबारी, इटाभट्टा, काँकरभिट्टा क्षेत्रमा विपद्को समयमा पानीको आपूर्तिलाई थप सहज बनाउन पानी पोखरी निर्माण कार्यका लागि आवश्यक सहकार्य एवम् समन्वय गर्ने, आगलागीबाट हुने विपद् जोखिम न्यूनिकरण गर्न गराउन वारुणयन्त्र लाई सहज रुपमा पानी भर्न आवश्यक पर्ने ‘फायर हाइडे«न्ट’को सञ्चालन तथा प्रयोग सम्बन्धी थप जानकारी गर्न गराउन खानेपानी उपभोक्ता समुहहरुले प्राविधिक सहयोग एवम् समन्वय गर्ने, विपद् जोखिम न्यूनिकरणका लागि विपद् ब्यवस्थापन समिति मार्फत मेची उद्योग वाणिज्य संघ, स्थानीय सुरक्षा निकाय एवम् अन्य सरोकारवाला निकायहरु बीच सहकार्य समन्वय गरी अनुगमन, निरीक्षण गर्ने ,विपद् ब्यवस्थापन सम्बन्धी कार्ययोजना बनाई सचेतनामूलक कार्यक्रम सञ्चालन को व्यवस्था मिलाउने, वारुणयन्त्र सञ्चालन ब्यवस्थापनलाई अझ चुस्त दुरुस्त राख्ने तथा थप वारुणयन्त्रको व्यवस्थापन गर्ने विपद् जोखिम न्यूनिकरणका लागि पूर्व तयारीका लागि सबै सरोकारवाला निकायहरुबीच भइरहेको सहकार्य एवम समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

छलफलमा नेपाली काँग्रेसका नगर सचिव मुकेश लिम्बु, १ नम्बर क्षेत्रीय सचिव सुरेन्द्र बुडाथोकी, नेकपा एमाले झापा जिल्ला कमिटि सदस्यहरु डिल्लीराम घिमिरे, देवकुमार राई, नेकपा माओवादी केन्द्रका मेचीनगर सचिव ज्ञानेन्द्रकुमार घिमिरे, नेकपा ‐एकीकृत) समाजवादीका मेचीनगर अध्यक्ष अर्जुन पौडेल, रािष्ट्रय प्रजातन्त्र पार्टी मेचीनगर अध्यक्ष सविना नेपाल, मेची उद्योग बणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषिराज तिम्सिना, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष राजकुमार पराजुली, धुलावारी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष अजय घिमिरे, चारआली खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष मधु निरौला, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहाललगायतले आ आफ्नो विचार राख्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.