२७ साउन, धरान : कोरोना महामारी दोस्रो पटक बढेयता सरकारले सय शय्या र त्यसभन्दा बढी क्षमताका अस्पतालहरूलाई आफ्नै अक्सिजन प्लान्ट राख्न निर्देशन दिएको छ । तर प्लान्ट खरिद र जडान गरेरमात्र हुँदैन, त्यसलाई व्यवस्थापन सुदृढ हुनुपर्छ भन्ने पुष्टि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको छ । प्रतिमिनेट १६ सय लिटर उत्पादन क्षमताको आफ्नै प्लान्ट भएको प्रतिष्ठान बाहिरबाट अक्सिजन खरिद गरिरहेको छ ।
क्षमताका हिसाबले प्रतिष्ठानको प्लान्ट मुलुकमै सबैभन्दा ठूलो हो । उत्पादन प्लान्टसँगै अक्सिजन भण्डारणका लागि २० हजार लिटर क्षमताको अक्सिजन ट्यांकी पनि छ । पछिल्लो समयमा विदेश बस्ने नेपालीले पनि अक्सिजन कन्सन्ट्रेटरहरू प्रतिष्ठानलाई दिएका छन् । तर, प्रतिष्ठानले अक्सिजन बाहिरबाट खरिद गर्न नछाड्नुको कारण हो प्लान्ट बिग्रिरहनु ।
प्लान्ट राख्न प्रतिष्ठानले आह्वान गरेको पहिलो पटकको टेन्डर रद्द भयो । दोस्रो पटकमा भारतीय कम्पनी युनिषी इन्डिया र नेपालको डाइग्नोकेन इन्टरनेसनलले ०७३ असार २९ मा ३ करोड २४ लाख रुपैयाँको ठेक्का पाए । उक्त ठेक्काअनुसार प्रतिष्ठानमा जडान गरिएको प्लान्ट हालसम्म ६ पटकभन्दा बढी बिग्रिएको छ । प्रतिष्ठान स्रोतका अनुसार करिब ८० लाख रुपैयाँ त मर्मत–सम्भारमै खर्च भइसकेको छ । तर अझै पनि साना सिलिन्डरमा अक्सिजन भने बुस्टर बनेको छैन । तीन महिनाअघि दोस्रो पटक बिग्रेको बुस्टर अझै बनाइएको छैन ।
पाइपलाइन नपुगेका वार्डमा बिरामीलाई साना सिलिन्डरबाट अक्सिजन दिनुपर्छ । आफ्नै प्लान्टले असिजन उत्पादन गरे पनि प्रतिष्ठानले बुस्टरले काम नगर्दा कोभिड अस्पतालका बेड, आईसीयू, एचडीयू बेडमा चाहिने सानो सिलिन्डरमा भर्न पाएको छैन । साना सिलिन्डर अक्सिजन बाहिरबाट आपूर्ति हुने गरेको छ । ‘बुस्टरको ५ लाख रुपैयाँ हाराहारी मात्रै पर्छ । सानो लागतको भएकाले पदाधिकारीहरू कमिसन नआउने भएपछि खरिद गर्ने कि मर्मत–सम्भार गर्ने भन्नेमै अलमलिए,’ स्रोतले भन्यो, ‘त्यसैले नबनाइएको हो ।’ प्रतिष्ठानमा बिग्रेर थन्क्याइएको बुस्टरको क्षमता २४ घन्टामा एक हजारवटा साना सिलिन्डर भर्ने थियो ।
लागत बढाएर १२ करोड ४० लाखमा फार्मेसी भवन
ठूलो प्लान्टकै ठेक्कामा पनि प्रतिष्ठानमा निकै चलखेल भएको दाबीभित्रैका स्वास्थ्यकर्मीको छ । ४ करोड ९६ लाख रुपैयाँ लागत अनुमान गरी ०७२ चैत ११ मा इ–टेन्डर आह्वान गर्दा पाँचवटा फर्मले बोलपत्र पेस गरेका थिए । त्यसबेला विज्ञान अर्यालको डाइग्नोकेम इन्टरनेसनलले ठेक्का पाएको थियो । डाइग्नोकेमले प्लान्ट आपूर्ति गर्न विदेशी कम्पनी युनिषी इन्डिया, केइसर, एमडीको नाममा ३ करोड ८ हजार ५ सय १७ रुपैयाको प्रतीतपत्र खोल्यो । सम्झौताअनुसार ०७३ कात्तिक १३ सम्ममा प्लान्ट आपूर्ति, जडान, परीक्षण र सञ्चालन गरिसक्नुपर्ने थियो । तर करिब ६ महिनापछि मात्र प्लान्ट प्रतिष्ठान परिसरमा ल्यायो, थप ६ महिना त्यत्तिकै चौरमा डम्प गरेर राख्यो ।
प्रतिष्ठानसँग भएको पुरानो सानो प्लान्ट बिग्रेका बेला ठूलो प्लान्ट चलाउने भनेर खरिद प्रक्रिया अघि बढाइएको थिये । नयाँ प्लान्ट सञ्चालनमा ल्याउन ढिलाइ हुँदा ०७४ असोजदेखि १३ महिनासम्ममा ६४ लाख ३९ हजार ६ सय ४० रुपैया त अक्सिजन खरिदमै खर्च भएको ०७५ कात्तिकमा गठित एक कार्यदलले आफ्नो प्रतिवेदनमै उल्लेख गरेको छ । प्लान्ट ल्याउने ठेक्का पाएको डाइग्नोकेमले करिब २८ महिनापछि २०७६ माघ २४ मा मात्र जडान गर्यो । प्लान्ट पहिलो दिन चल्यो, भोलिपल्टै बिग्रियो । त्यसपछि बनाउन तीन महिना लाग्यो ।
बीपीमा पुरानै पाठ्यक्रम, विदेशमा मान्यता पाउन चुनौती
प्लान्ट मर्मत गरे पनि कहिले तारै चुँडिएको भेटिने, कहिले जिओलाइट धुलिने, जेनेरेटर, कन्सन्ट्रेटर, ड्रायर मेसिन बिग्रने र बनाउने क्रम जारी रहयो । हुँदाहुँदा भोल्टेज स्टेबलाइजरदेखि कम्प्रेसर, बुस्टर पनि एकपछि अर्को गर्दै बिग्रेपछि महँगोमा खरिद गरेको अक्सिजन प्लान्ट भर पर्न नसकिने भएको छ ।
‘प्लान्टको पालैपालो सबै मेसिन बिग्रेकाले मर्मत गर्नमात्र पनि हालसम्ममा कम्तीमा ८० लाख रुपैयाँ अतिरिक्त खर्च भइसकेको छ । अहिले जसोतसो चलिरहेको छ तर कति अक्सिजन उत्पादन हुँदै छ भन्ने कुरा भने थाहा लाग्न सकेको छैन,’ इलेक्ट्रोमेड शाखाका एक प्राविधिकले भने, ‘कम्पनीले प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन क्षमता भनेको छ । त्यसका लागि फ्लोमिटर जडान नगरेसम्म यति नै उत्पादन हुँदै छ भन्ने थाहा हुँदैन ।’ प्लान्टमा फ्लोमिटर नै नभएकाले आपूर्तिकर्ता कम्पनीले भनेकोलाई पत्याउनुपरेको उनले बताए ।
ती प्राविधिकका अनुसार मेडिकल उपकरणको स्पेसिफिकेसन बायोमेडिकल इन्जिनियरले हेर्नुपर्छ । त्यसका लागि जनशक्ति भए पनि प्रतिष्ठानले जिम्मेवारी इलेक्ट्रोनिकल इन्जिनियर राहुल मिश्रलाई दिएको छ । ‘पंखा, फ्रिज, टेलिभिजन, एसी मर्मत सम्भार हेर्नेलाई मेडिकल इक्विपमेन्ट हेर्ने जिम्मेवारी दिनु बदमासी लुकाउने कोसिस हो,’ उनले भने । यसबारेमा प्रधानमन्त्री कार्यालयका सहसचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित बीपी प्रतिष्ठानको समस्या पहिचान तथा छानबिन कार्यदलले तयार गरेर हालै सार्वजनिक गरेको प्रतिवेदनमा पनि उल्लेख छ ।
८ करोड भुक्तानी भएको सीटी स्क्यान मेसिनको पत्तो छैन
अक्सिजन प्लान्टको पाँचवर्षे वारेन्टी–ग्यारेन्टीको अवधि अझै सकिएको छैन । तर बिग्रिरहने पार्टपुर्जा प्रतिष्ठानले आफैं खरिद गरिरहनुले प्लान्ट आफैं कसरी बिग्रन्छ भन्नेमा शंका गर्नुपर्ने अवस्था रहेको कर्मचारी बताउँछन् । तोकिएको समयमा प्लान्ट नल्याउने, ६ महिना ढिला ल्याएर चौरमा सामान राखेर ६ महिना सम्पर्कविहीन हुने र बल्लतल्ल आएर जडान गरे पनि बिग्रिरहने उपकरण आपूर्ति गर्ने कम्पनीलाई प्रतिष्ठानले कालोसूचीमा राखेर कारबाही गर्नुपर्ने थियो । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२१ अनुसार प्रतिदिन ०.०५ प्रतिशतको दरले क्षतिपूर्ति असुलउपर गर्नुपर्नेमा ऐनविपरीत डाइग्नोकेमका सञ्चालक अर्याललाई नै बोलाएर उपकुलपति डा. ज्ञानेन्द्र गिरीले मर्मत–सम्भारबापतको ३० लाख रुपैयाँ भुक्तानी गरेका छन् । जबकि महालेखा परीक्षकको कार्यालय, कानुनी सल्लाहकार र प्रतिष्ठानकै खरिद प्रशासनले ३२ लाख ४० हजार रुपैयाँभन्दा बढी जरिवाना तिराउनुपर्ने राय गत वैशाख ९ को ‘अक्सिजन प्लान्ट सर्भिसिङको सम्बन्धमा टिप्पणी’ पत्रमा उल्लेख गरेका थिए ।
७६ करोड लागतको भवन २ अर्ब ३३ करोडमा ठेक्का, म्याद थप्दा पनि अपूरै
कालोसूचीमा राखेर हर्जाना तिराउनुपर्ने कम्पनीलाई डा. गिरीले प्रतिष्ठानको डायलसिस कक्षमा अक्सिजन पाइपलाइन विस्तारको ३० लाखको ठेक्का दिएका थिए । ४५ दिनमा काम गर्नुपर्ने ठेक्काको म्याद थियो । तर म्याद गुज्रेको एक साता बितिसक्दा पनि हालसम्म काम सुरु भएको छैन ।
प्रतिष्ठानमा गत साता मात्र एउटा अर्को अक्सिजन प्लान्ट जडान भएको छ । भारत सरकारले अनुदानमा दिएको उक्त प्लान्टको मूल्य करिब १ करोड ५० लाख रुपैयाँ पर्छ । प्रतिमिनेट १ हजार लिटर उत्पादन क्षमता भएको बताइएको उक्त प्लान्ट सञ्चालनमा आइसकेको छैन । एक महिनाअघि मात्र नेपाल सरकारको बजेटबाट २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्यांकी पनि जडान गरिएको छ । उक्त ट्याङ्कीमा राख्ने अक्सिजन भने प्रतिष्ठानको प्लान्टले उत्पादन गर्दैन, भारतबाटै आपूर्ति गर्नुपर्छ । हालसम्म तीनपटक लिक्विड अक्सिजन भरिएको छ ।
मुलुककै सबैभन्दा बढी क्षमताको प्लान्ट, लिक्विड अक्सिजन ट्यांकी र दाताले दिएका कन्सन्ट्रेटर भए पनि प्रतिष्ठानले लिक्विड अक्सिजनका लागि भारतको र साना सिलिन्डर भर्नका लागि बाहिरका उद्योगको भर पर्नु चरम लापरबाही भएको धरान नागरिक दबाब सञ्जालका संयोजक डा. राजेन्द्र शर्माले बताए । प्रतिष्ठान परिसरको कोभिड अस्पतालमा अधिकांश बिरामीलाई अक्सिजन नै चाहिन्छ ।
बीपी प्रतिष्ठानमा बेथिति : मेडिकल उपकरण खरिदमा २८ गुणासम्म बढी भुक्तानी
प्लान्टबाट पाइपलाइन विस्तार गरिएको छ । तर प्रतिष्ठानको प्लान्टबाट पाइपलाइनमा आउने अक्सिजनको प्रेसर नै कम हुन्छ । दैनिक ५ पटक बढी बीच बीचमा आपूर्ति रोकिँदा आईसीयू र एचडीयूमा भर्ना भएका बिरामीलाई गाह्रो पर्ने गरेको छ । प्रतिष्ठानमा १० भेन्टिलेटरमध्ये २ वटा त कामै नलाग्ने छन् । प्रतिष्ठानका प्रवक्ता डा. चूडामणि पोखरेलले केही दिनअघि लिक्विड अक्सिजनको बुलेट भारतबाट ल्याउँदा भन्सारले रोकेर दुई दिन राखिदिँदा ठूला सिलिन्डरमा अक्सिजन खरिद गर्नुपरेको बताए ।
‘हामीकहाँ जडान गरिएको लिक्विड अक्सिजन ट्यांकीमा भर्नका लागि नेपालमा प्रविधि छैन, त्यसैले भारतबाटै अक्सिजन बुलेट ल्याउनुपरेको हो,’ उनले भने, ‘पाइपलाइन पुगेका वार्डमा सानो सिलिन्डरबाट अक्सिजन सप्लाई भइरहेको छ । तर बुस्टर बिग्रेकाले साना सिलिन्डरमा भर्न नसक्दा खरिद गर्नुपरेको छ ।’ बुस्टर मर्मत गर्नका लागि प्रक्रिया सुरु गरिसकेको बताए ।
साभार : इकान्तिपुरबाट





















