१६ चैत, मेचीनगर : वितेको चारवर्षदेखि ओरालो लागेको अदुवा निर्यात चालु आर्थिक वर्ष २०७८/०७९ को आठमहिना एक्कासी बढेर झण्डै दोब्बररुपमा निर्यात भएको छ ।
हरेकवर्ष पूर्वीनाकाबाट हुने अदुवा निकासी ओरालो लाग्दै गएको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले यसलाई पुष्टि गरिरहदा अचालु आर्थिक वर्षको यो अवधिमा सोचे भन्दा बढी अदुवा निर्यात भएको कार्यालयको भनाई छ ।
विभिन्न अवरोधका कारण पटक पटक निकासी ठप्प हुदाँ व्यवसायीहरु ठूलो आर्थिक भार खेप्न बाध्य हुनु परेको थियो । अहिले निर्यात बढेसँगै व्यवसायीहरु समेत उत्साहित बनेका छन् ।
क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्क हेर्ने हो चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि फागुनमहिनासम्म काँकरभिट्टा नाका भएर २१ करोड १ लाख ३ हजार रुपैयाँ मुल्य बराबरको ४ हजार ३ सय ७७ मेट्रिक टन अदुवा निकासी भएको छ ।
गत आर्थिक वर्ष २०७७/०७८ को एकवर्षे अवधिमा काँकरभिट्टानाका भएर १२ करोड ९६ लाख रुपैयाँ मुल्य बराबरको २ हजार ७ सय मेट्रिक टन मात्र अदुवा निकासी भएको थियो । गतवर्षको एकवर्षको अवधि र चालु आर्थिक वर्षको आठमहिनाको निर्यात व्यपार हेर्दा अदुवाको माग प्रशस्त हुन थालेको कार्यालय प्रमुख बाली संरक्षण अधिकृत देवेन्द्र साहुँले जानकारी दिनुभयो । कोभिड क्रमस नियन्त्रणमा आउनु तथा नेपाल भारत आवतजावत सहजरुपमा हुन थाल्नुले पनि निर्यात बढेको उहाँको भनाई छ ।
पूर्वी पहाड संखुवासभा, भोजपुर, तेह्थुम, धनकुटा, इलाम, पाचथर, ताप्लेजुग्लगायत जिल्लामा व्यावसायिक अदुवा खेती हुने गरेको छ । झापासहित ताप्लेजुङ, पा“चथर, इलामलगायत पूर्वी पहाडी जिल्लाहरुवाट संकलन गरी अदुवा भारत तथा बंगलादेश निकासी हुने व्यवसायीहरुको भनाई छ । नेपालमा उत्पादन भएको मध्येको ८० प्रतिशत अदुवा भारतीय बजारमा खपत हुने गरेको छ । त्यसको सबैभन्दा बढी हिस्सा ३१ प्रतिशत पूर्वका जिल्लामा मात्र उत्पादन हुन्छ । नेपालको नगदे बालीहरुमध्ये अदुवा अलैचीपछि सर्वाधिक विदेश निर्यात हुने कृषि उत्पादन हो । मेचीका चार जिल्लामा वार्षिक अन्दाजी ७० देखि ८० हजार मेट्रिक टन भन्दा वढी अदुवा उत्पादन हुने गरेको नेपाल अदुवा उत्पादक संघले जनाएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा १३ करोड ३० लाख ४ हजार वा ५ हजार २ सय १४ मेट्रिक टन अदुवा निर्यात भएको तथ्याङ्मा उल्लेख छ । आर्थिक वर्ष २०७७/०७८ मा काँकरभिट्टानाका भएर १२ करोड ९६ लाख रुपैयाँ मुल्य बराबरको २ हजार ७ सय मेट्रिक टन अदुवा निकासी भएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा नेपालले २२ करोड २८ लाख ३५ हजार रुपैयाँँ मुल्य बराबरको ९ हजार ९ सय ४८ मेट्रिक टन अदुवा भारत निकासी गरेको थियो । आर्थिक वर्ष २०७४ /०७५ मा यो नाका भएर ५६ करोड ८६ लाख २८ हजार रुपैयाँ मुल्य बराबरको २४ हजार २ सय ६८ मेट्रिक टन अदुवा भारत र बंगलादेश निकासी भएको कार्यालयले जनाएको छ ।
यसले आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७७/०७८ को चारवर्षको अवधिमा काँकरभिट्टा नाका भएर भारत निकासी हुने अदुवामा हरेक वर्ष गिरावट आएको पुष्टि गर्दछ । झण्डै डेढवर्षअघिदेखि कोभिड १९ कारण नाका ठप्प हुदाँ निर्यात व्यापार कम भएको नेपाली अधिकारीहरुको भनाइ छ ।
भारतीय पक्षको कहिले वस्तु तथा सेवा कर (जीएसटी), कहिले अदुवामा हानीकारक विषादीको मात्रा पाइएको भन्ने विभिन्न वहाना र अवरोधका कारण नेपाली अदुवा निकासीमा वारम्वारको समस्या त, कहिले नेपाल सरकारले अदुवा निर्यातकालागि जिल्ला कृषि कार्यालयको सिफारीश अनिवार्यका कारण पूर्वी नाका हुदै भारत निकासी हुने अदुवाको निकासी हरेक वर्ष ओरालो लाग्ने गरेको व्यवसायीहरुको गुनासो थियो ।
भारतीय पक्षका विभिन्न वहाना र अवरोधका कारण नेपाली अदुवा निकासीमा वारम्वार समस्या हुनु तथा नेपाल सरकारले अदुवा निर्यातकालागि जिल्ला कृषि कार्यालयको सिफारीश अनिवार्यका कारण पूर्वी नाका हुदै भारत निकासी हुने अदुवाको निकासी हरेक वर्ष ओरालो लाग्ने गरेको अनुमान व्यवसायीहरुको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य एकरुपता नहुनु तथा नेपालमा हरेक वर्ष अदुवाको उत्पादन घट्नु ले पनि निकासी ओरालो लागेको आशंका समेत गरिएको छ ।
भारतले कृषिकालागि आत्मनिर्भर हुने लक्ष्यका साथ दक्षिणी भारतमा व्यवसायिक अदुवा खेती विस्तार गर्दै गएकाले माग घटेका कारण पनि निर्यात घटेको हुन सक्ने आशंका नेपाली कृषकको छ । नेपाल संसारमा चीन र भारतपछि तेस्रो ठूलो अदुवा उत्पादक मुलुक हो । आन्तरिक खपतपछि लगभग सबै अदुवा भारत तथा बंगलादेश निर्यात हुँदै आएको छ ।





















