२१ चैत, जनकपुरधाम : जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन्। भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गरेका थिए।
आइतबार बिहान ८ः३० मा हिँडेको रेल जनकपुर स्टेसनमा झन्डै १०ः१५ मा आइपुगेको थियो। पहिलो दिन जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म पुगेको रेलमा साधारण र एसी दुवैतर्फ यात्रु भरिभराउ आएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिए।
निर्धारित समय तालिकाअनुसार नै नियमित रेल चल्न थालेको उनको भनाइ छ । उनका अनुसार दिनको दुईपटक आउने र दुईपटक जाने गरी समय तालिका निर्धारण गरिएको छ। जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्को रेल छुट्ने उनले जानकारी दिए।
लामो समयदेखि रेल चल्ने सुने पनि थन्किएको रेल देख्दै आएका धनुषावासी नियमित सञ्चालित रेल देखेर दंग भएका छन्। स्थानीय युवा सञ्जय झा रेल नियमित रुपमा चल्न थाल्दा अबको केही वर्षमा नै जनकपुर र आसपासका ठाउँको अवस्था बदलिने आशा व्यक्त गरे। रेल सेवा सुरु भएसँगै यहाँको पर्यटन, धार्मिक क्षेत्रको विकास हुने र स्थानीय उत्पादनको निर्यात बढ्ने उहाँको विश्वास छ। उनले भने, ‘हामीले आफ्नै ठाउँमा केही गर्छु भन्दा पनि अवसर मिल्ने देखिन्छ।’
रेल नियमित सञ्चालन हुने हल्ला सुनेका जनकपुरवासी केही दिनदेखि नै उत्साहित भएका थिए। कतिपय शनिबार बिहानै त कतिपय शुक्रबार साँझदेखि स्टेसन पुगेर रेल हेर्दै थिए। कतिपयले रेलको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा हाले त कतिपयले आफन्तजनलाई पठाए। जनकपुरका युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र कतिपय जनकपुरबाट टाढा–टाढाबाट समेत रेल हेर्न आएका थिए।
रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेसन हल्ट छन्। तीनमा कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन्। नेपालले खरिद गरेको रेलगाडी छोटो दूरीमा रोकिन र सञ्चालन गर्न उपयुक्त हुने रेल विभागका प्रवक्ता (सिनियर डिभिजनल इन्जिनियर) अमन चित्रकारले बताए।
यसमा चालकले छोटो समयमा नै गति बढाउन र रोक्न सकिने हुन्छ। एउटा स्टेशनबाट चार पाँच किलोमिटरमा अर्को स्टेशन आउँछ। यसको डिजाइन स्पिड यात्रुवाहक गाडीमा १०० किमी प्रतिघण्टा रहेको छ। मालबाहक गाडीमा भने ६५ किमी प्रतिघण्टा रहने उनले जानकारी दिए। उनले भने, ‘त्यही रेलमार्गमा यात्रु लैजाँदा चाँडो लैजान सक्ने भयो भने सामान लैजाँदा बढी समय लाग्छ।’
डेढ वर्ष पहिले आइपुगेको रेल विभिन्न समस्याका कारण सञ्चालन हुन सकेको थिएन। कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो। अहिले सबै किसिमका तयारी सकिएकाले सञ्चालनका लागि बाटो खुलेको थियो।
भारतको सरकारी कम्पनीमार्फत नै रेल सेट खरिद भएको हो। दुई सरकारबीच सम्झौता भई (जिटुजी) रेल खरिद भएको हो। कम्पनीले रेल सञ्चालनका लागि दक्ष प्राविधिकसहित प्रशासनिकलगायत आवश्यक कर्मचारी भर्ना गरिएको छ। रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ। भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इन्जिनियर रहेको महाप्रबन्धक झाले जानकारी दिए।
कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा रु. ९० भाडादर तोकिएको छ। एसिका लागि भने त्यसको पाँच गुणा अर्थात रु ४५० तिर्नुपर्ने कम्पनीले जनाएको छ। कम दूरीमा यात्रा गर्दा स्वत भाडादर त्योभन्दा कम हुनेछ।
रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर-जनकपुर रेल सञ्चालनको बाटो खुलेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको थियो। यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सङ्घीय संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो।
जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो। यसको एक डेढ वर्ष पछिदेखि काम सुरु भएको थियो। भारत सरकारसँग सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण गर्ने गरी सम्झौता भएको थियो।
तीमध्ये जयनगर-कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम सुरु हुन सकेको छैन। सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी-काँकडभिट्टा, नौतनहवा-भैरहवा र नेपालगञ्जरोड-नेपालगञ्ज छन्।
विगतमा लामो समयदेखि रेल सेवा ठप्प हुँदा रेल्वे कम्पनी पनि निष्क्रिय बनेको थियो। सरकारले रेल सञ्चालनका लागि ब्यूँत्याइएको थियो। नेपालमा राणाकालमै १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो। २०७० देखि रेलमार्ग सञ्चालन हुन सकेको थिएन। रेलमार्ग सुधार गरी जाने नेपाल भारतबीचको समझदारीअनुसार ब्रोड गेजमा यो रेलमार्गको निर्माण भएको हो।
जयनगर-कुर्था-बर्दिवाससम्मको रेलमार्ग निर्माणको अनुमानित लागत रु पाँच अर्ब भारु रहेको छ । नेपाल सरकारले रेलगाडीको मूल्य रु एक अर्ब रहेको छ। विजुलपुराबाट बर्दिवाससम्म रेलमार्ग निर्माणका लागि जग्गा प्राप्ति काम अघि बढेको छ।
काठमाडौँप्रेसबाट
























