२६ साउन, मेचीनगर : डेढदशकअघि सरकारले अघि सारेको प्याज विशेष कार्यक्रम प्रभावकारी हुन नसकेको एक तथ्याङ्कले देखाएको छ ।
आयात घटाउने र निर्यात वृद्धि गर्ने उद्देश्यसहित २०६४ सालमा सरकारले झापासहित तराईका विभिन्न जिल्लामा प्याज विशेष कार्यक्रम सञ्चालनमा ल्याएको थियो । तर, प्लान्ट क्वारेण्टिन एवम् विषादी व्यवस्थापन केन्द्र कार्यालय काँकरभिट्टाको तथ्याङ्कले यो कार्यक्रम असफल भएको पुष्टि गरेको छ । सरकारले कार्यक्रम अघि सारेपनि प्याज खरिदमामात्र हरेक वर्ष सरकारको करोडौं रुपैयाँ विदेशिएकोछ ।
कार्यालयका बाली संरक्षण अधिकृत देविन्द्र साहुका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा मात्र काँकरभिट्टा नाका भएर ७ करोड ३५ लाख ६९ हजार रुपैयाँ मुल्य बराबरको ९ सय ९४ मेट्रिक टन प्याज आयात भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ३ करोड ४३ लाख ७० हजार रुपैयाँ मुल्य बराबरको १ हजार ७ सय ३० मेट्रिक टन प्याज नेपालले खरिद गरेको थियो ।
ऐन कानुन बनाउने, महत्वकांक्षी योजनाहरु ल्याउने अनि तत्काल घोषणा गरिहाल्ने तर त्यसको कार्यान्वयनमा भने सरकार कहिल्यै गम्भीर नबन्ने सरकारी कमजोरीले प्याज विशेष कार्यक्रम असफल भएको ठम्याई नेपाली किसानको छ ।
प्याजको आयात घटाउँदै नेपाली प्याजलाई अन्तर्राष्ट्रिय वजारमा पुर्याउनका लागि तराईका झापा, सप्तरी, बारा, रुपन्देही, कपिलवस्तु, बाँके बर्दियालगायतका जिल्लामा सरकारले प्याज विशेष मिसन ल्याएको थियो । नेपालमा प्याज उत्पादन हुने भए पनि भण्डारणको व्यवस्था पर्याप्त नभएका कारण व्यावसायिक रुपमा प्याज खेतीप्रति किसानको आर्कषण घटेको छ । नेपालमा माग अनुसार प्याजको उत्पादन नभएको कार्यालयले जनाएको छ ।





















