२९ पुस, काठमाडौं : विदेशी मुद्राको सञ्चिति दयनीय अवस्थामा पुगेको छ । चालु आर्थिक वर्षको चौथो महिनामा ७.२ महिनाको वस्तु तथा आयात धान्न पुग्ने देखिएको विदेशी मुद्राको सञ्चिति पाँच महिनामा आइपुग्दा अझ घटेर ६.८ महिनाको वस्तु तथा आयातमात्रै धान्न अवस्थामा झरेको छ ।

२०७८ मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.५ प्रतिशत, ५६.९ प्रतिशत र २३.२ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।
२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.२ प्रतिशतले घटेर मंसिर मसान्तमा १२ खर्ब १४ अर्ब ३ करोड कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १४.७ प्रतिशतले कमी आई १० अर्ब ३ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा २०७८ मंसिर मसान्तमा १२.९ प्रतिशतले कमी हुँदा १०८४ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७८ मंसिर मसान्तमा १६.२ प्रतिशतले कमी आई १२९ अर्ब ४० करोड रुपैयाँ कायम भएको छ । २०७८ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ ।
अनलाइनखबरबाट
























