काठमाडौँ, भदौ ३०: जेन-जी पुस्ताको आन्दोलन हिंसात्मक बन्दा देशभरका ६८ वटा बैंकका शाखा कार्यालयहरूमा आक्रमण भएको र ६९ वटा एटिएममा क्षति पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रमपछि बोल्दै गभर्नर प्राडा विश्व पौडेलले बैंकिङ प्रणालीमा भने कुनै असर नपरेको र सबै कामकाज सामान्य रहेको जानकारी दिए। आन्दोलनकारीको मुख्य निशाना बैंकहरू नरहेको उल्लेख गर्दै गभर्नर पौडेलले अहिले सबैको मनोबल बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।
अनुभवी अर्थमन्त्रीको आगमनले काम गर्न सहज हुने विश्वास व्यक्त गर्दै गभर्नर पौडेलले जेन-जी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न सबै क्षेत्रमा मनोबल बढाउनुपर्नेमा जोड दिएका छन्।





















