नेपाल र चीनबीच रसुवागढी-केरुङ विद्युतीय प्रसारण लाइन निर्माण गर्ने सहमति

८ भदौं, काठमाडौँ : नेपाल चीनबीच रसुवागढी केरुङ विद्युत् प्रसारण लाइन निर्माण गर्ने सम्झौता भएको छ । नेपालले भारतपछि चीनसँग अन्तरदेशीय विद्युत् प्रसारणलाइन निर्माण गर्ने सहमति गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा २२० केभी प्रशासन लाइन निर्माण गर्ने सोमबार सहमति भएको स्रोतले जनाएको छ ।

त्यसैगरी संखुवासभाको किमाथांका हुँदै तिब्बतसम्म निर्माण गरिने विद्युतीय प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्ने दुई देशबीच सहमति भएको छ । ‘रसुवागढी केरुङ विद्युतीय प्रसारण लाइन चीनको सरकारको अनुदानमा निर्माण गर्न सहमति भएको छ,’ स्रोत भन्यो, ‘यस विषयको औपचारिक घोषणा आजै हुने छ ।’

सहमतिअनुसार रसुवाको चिलिमेबाट तिब्बतको जिलोङसम्म १६ किलोमिटर लामो प्रसारण लाइन चीन सरकारले बनाइदिनेछ । नेपालले भारतपछि चीनसँग अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा १२ वटा सम्झौता तथा समझदारी र एउटा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको थियो ।
इकान्तिपुर

Exit mobile version