२६ असार, मेचीनगर : चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि जेठमसान्तसम्ममा झापामा एक लाख ८४ हजार ९ सय ५६ वटा सवारी दर्ता भएका छन् । यातायात व्यवस्था कार्यालय झापाका अनुसार सो अवधिमा दुई, तीन र चारपाङग्रे सवारी गर्दा भएका हुन् । सबैभन्दा बढी दुई पाङग्रे सवारी साधन दर्ता भएका छन् ।
अवधिमा दुई पाङग्रे सवारी एक लााख ४४ हजार १ सय ३४ वटा दर्ता भएको कार्यालय प्रमुख हरिप्रसाद लामिछानेले जानकारी दिनुभयो । चार पाङग्रे १८ हजार ७ सय ७५, तीन पाङग्रे २२ हजार ४७ दर्ता भएको कार्यालय प्रमुख लामिछानेले बताउनुभयो ।
कार्यालयले चालु आर्थिक वर्षको यो अवधिमा ७८ करोड ४० लाख ३५ हजार २ सय ५८ रुपैयाँ राजश्व संकलन गरेको छ । सवारी कर वापत मात्रै ५५ करोड ६७ लाख ८ सय ३ रुपैयाँ राजश्व संकलन गरेको उहाँको भनाई छ । आय कर वापत तीन करोड ४३ लाख २१ हजार ६ सय ६६ रुपैयाँ, चालक अनुमती पत्र वापत १७ करोड २६ लाख दुई हजार ७ सय १५ रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ । अन्य आम्दानीमा दुई करोड ४१ लाख ७४ रुपैयाँ राजश्व संकलन भएको कार्यालय प्रमुख लामिछानेले बताउनुभयो ।
कार्यालयले ११ महिनाको अवधिमा ४० हजार १२ वटा सवारी चालक अनुमति–पत्र जारी गरेको छ । पछिल्लो समय कार्यालयले जारी गरेका सबै लाइसेन्स स्मार्ट हुने गरेको उहाँ बताउनुहुन्छ । यो अवधिमा १३ हजार ६ सय ४१ नयाँ लाइसेन्स जारी गरेको छ भने २१ हजार ५ सय ९९ नयाँ लाइसेन्स नवीकरण गरेको छ । त्यस्तै ४ हजार ७७२ वटा लाइसेन्समा वर्ग थप गरिएको छ । सरकारले नयाँ प्रणाली शुरु गर्दै लाइसेन्स वितरण गर्ने जनाएसँगै फारम दर्ता गर्नेको संख्या दुई हजार ६ सय ७४ रहेको छ ।
प्रदेश नम्बर १ का चार जिल्लाका सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको यातायात व्यवस्था कार्यालय मेचीले इलाममा समेत कार्यालय सञ्चालनमा ल्याएसँगै झापा कार्यालयमा सेवाग्राहीको चाप घटेको बताइएको छ । यसअघि यातायात व्यवस्था कार्यालय मेचीको रुपमा झापा स्थित कार्यालयले झापासहित इलाम, पाँचथर र ताप्लेजुङका सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको थियो ।
























