४ साउन, मेचीनगर : ट्राफिक प्रहरीको सक्रियता तथा विभिन्न समयमा गरेको ट्राफिक चेतनामुलक कार्यक्रम झापामा निक्कै प्रभावकारी भएको छ । त्यसैको परिणाम गत आर्थिक वर्ष ०७८/०७९ मा प्रहरीको कारवाहीमा पर्ने सवारी साधनको संख्यामा कमि भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार गत आर्थिक वर्ष ०७८ /०७९ मा ३ करोड ३८ लाख २९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाही स्वरुप राजस्व संकलन गरेको कार्यालयका ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा संकलित रकम भन्दा झण्डै ३१ लाख २४ हजार ५ सय रुपैयाँले कमि हो । ट्राफिक प्रहरीको सक्रियता तथा विभिन्न समयमा गरेको ट्राफिक चेतनामुलक कार्यक्रम प्रभावकारी भएका कारण गत वर्ष सवारी नियम उल्लंघन गर्ने सवारी साधनको संख्या कम भएका कारण पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व असुलीमा कमि आएको ट्राफिक प्रहरी सहायक निरीक्षक खड्काको भनाई छ । कार्यालयले अघिल्लो आर्थिक वर्षमा ३ करोड ६९ लाख ५३ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको थियो । यो वर्ष जिल्लामा ५३ हजार १ सय सवारी साधन कारवाहीमा परेका थिए ।
गत आर्थिक वर्षमा ४७ हजार ९ सय सवारीलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । सबैभन्दा धेरै मोटरसाइकल कारबाहीबाट १ करोड २५ लाख ६३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । ट्रक कारबाहीबाट ९६ लाख ६१ हजार ५ सय, बस कारबाहीबाट १३ लाख २५ हजार , कारजिप कारबाहीबाट ४३ लाख ९२ हजार , ट्याक्टर कारबाहीबाट २५ लाख ६८ हजार ५ सय, टेम्पो र अन्य गरी ३३ लाख १९ हजार रुपैयाँ राजश्व संकलन भएको झापा ट्राफिक प्रहरी सहायक निरीक्षक खड्काले जानकारी दिनुभयो ।
झापामा एकवर्षमा १ सय १६ जनाको मृत्यु
एक वर्षको अवधिमा झापा जिल्लका विभिन्न स्थानमा भएकोसवारी दुर्घटनामा परेर १ सय १६ जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आर्थिक वर्ष ०७८/०७९ मा ज्यान गुमाउनेको संख्या २० जनाले बढी हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ ।
आर्थिक वर्ष ०७८/०७९ मा ५ जना बालबालिका, ९६ पुरुष र १५ जना महिलाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा ९६ जनाको दुर्घटनामा ज्यान गएको कार्यालयको अभिलेखमा छ ।
ती दुघर्टनामा परेर २ सय ५४ जना सख्त घाइते, ७ सय २ जना सामान्य घाइते भएका छन् । गत आर्थिक वर्ष ५६ वटा ट्रक, ३८ वटा बस, १ सय २ वटा जिपकार, ५ सय ५५ वटा मोटरसाइकल, ३५ वटा ट्याक्टर, ४९ वटा टेम्पो, ६६ वटा साइकल, ठेला र अन्य ११ गरी ९ सय १२ दुर्घटना भएको थियो । अघिल्लो आर्थिक वर्षमा १ हजार एउटा दुर्घटना भएको झापा ट्राफिकले जनाएको छ ।
झापा ट्राफिकले जिल्लाका ७ ठाउँलाई दुर्घटनाग्रस्त क्षेत्र घोषणा गरेको छ । त्यसमा मेचीनगर–६ को पालिया पुल, मेचीनगर –१३ को चारआलीस्थित कालीझोडा, कनकाई–३ को जुके कल्भर्ट, शिवसताक्षी–१० को माइधार , शिवसताक्षी –२ को धरमपुर चोक, कमल–३ को सानो केर्खा र कलम–५ को पाडाजुँगी रहेको छ ।
























