काठमाडौं : भारतसँग सिमाना जोडिएका बजार क्षेत्रबाट किनमेल गरेर आउने नेपालीमाथि नेपालले भन्सार कडाइ गरेपछि भारतले पहिलोपटक औपचारिक प्रतिक्रिया जनाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जैसवालले नेपाली एक सय रुपैयाँभन्दा माथिका सामानमा गरिएको कडाइबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
भारतीय सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै जैसवालले नेपालले लागू गरेको नयाँ भन्सार नीतिबारे आफूहरू जानकार रहेको बताए। उनले तस्करी तथा अनौपचारिक व्यापार नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारले यस्तो कदम चालेको भारतले बुझेको उल्लेख गरे। साथै, दैनिक उपभोगका सामग्री किनमेलमा सर्वसाधारणलाई कुनै अवरोध नहुने भनी नेपाली अधिकारीहरूले दिएको आश्वासन आफूहरूले सुनेको पनि उनले बताए।
यद्यपि, सीमा क्षेत्रमा हुने सानो स्तरको व्यापारमा कडाइ गरिएको विषयमा विभिन्न तहबाट असन्तुष्टि व्यक्त हुन थालेको छ। नेपाल मामिलाका जानकार एस डी मुनीले सीमा क्षेत्रको व्यापारमा अवरोध सिर्जना गर्नु उपयुक्त नभएको बताएका छन्।
तराई–मधेश केन्द्रित दलहरूका साथै स्थानीय व्यापारी र सर्वसाधारणले समेत सीमामा पारिवारिक किनमेलमा लगाइएको कडाइप्रति विरोध जनाइरहेका छन्।
नेपालको नयाँ नीतिले सीमा व्यापार, स्थानीय अर्थतन्त्र र दुई देशबीचको जनस्तरको आवतजावतमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा चासो बढ्दै गएको छ।

























