काँकरभिट्टा बहुमुखी क्याम्पसमा २७औँ वार्षिक खेलकुद तथा अतिरिक्त क्रियाकलाप सप्ताह सुरु हुँदै

Kakarbhitta Multiple Campus entrance gate with blue metal doors and red brick pillars, surrounded by green trees and a cloudy sky.

६ पुस, काँकरभिट्टा : काँकरभिट्टा बहुमुखी क्याम्पसले शैक्षिक उपलब्धिसँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै २७औँ वार्षिक खेलकुद तथा अतिरिक्त क्रियाकलाप सप्ताह आयोजना गर्ने भएको छ।

क्याम्पस प्रशासनका अनुसार कार्यक्रम २०८२ पौंष ७ गतेदेखि सुरु भई विभिन्न खेलकुद तथा सिर्जनात्मक गतिविधि सञ्चालन गर्दै पुस १४ गते क्याम्पस स्थापना दिवसका दिन भव्य रूपमा समापन गरिनेछ।

विद्यार्थीहरूमा शारीरिक तन्दुरुस्ती, अनुशासन, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस सप्ताहमा भलिबल, फुटबल, क्रिकेट, टेबल टेनिस,  बुद्धिचाल (चेस) लगायतका खेलकुद प्रतियोगिता समावेश छन्। वार्षिकोत्सवकै अवसरमा मेचीनगर स्तरीय अन्तर मा.वि./क्याम्पस बुद्धिचाल प्रतियोगिता समेत गरिने भएको छ । साथै कविता प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमहरू पनि आकर्षणका रूपमा रहने क्याम्पसले जनाएको छ।

प्रतियोगिताहरू छात्र र छात्रा दुवै समूहका लागि सञ्चालन गरिनेछन्। प्रत्येक विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा समूहलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ। क्याम्पस प्रशासनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीको लुकेको प्रतिभा उजागर गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्न सहयोग पुर्‍याउँछ।

क्याम्पसको अतिरिक्त क्रियाकलाप विभागका प्रमुख लम्बोदर पौडेलले विद्यार्थीहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै भन्नुभयो,
“पाठ्यक्रमीय अध्ययनसँगै यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई आत्मविश्वासी, अनुशासित र सामाजिक रूपमा जिम्मेवार नागरिक बनाउन मद्दत गर्छ।”

कार्यक्रममा शैक्षिक विधातर्फका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान  तथा  पुरस्कृत समेत गरिने सहायक क्याम्पस प्रमुख वासुदेव कोइरालाले जानकारी दिनुभयो । स्थानीय शैक्षिक क्षेत्रमै नियमित रूपमा खेलकुद तथा अतिरिक्त गतिविधि सञ्चालन गर्दै आएको काँकरभिट्टा बहुमुखी क्याम्पसले यस वर्षको खेलकुद सप्ताहलाई अझ व्यवस्थित, सहभागितामूलक र उत्साहपूर्ण बनाउने तयारी गरेको जनाएको छ।

Exit mobile version