१३ कात्तिक, मेचीनगर : नेपालसँग सीमा जोडिएको भारतको पानीट्याँकीस्थित रानीगञ्ज नाका सञ्चालनमा आए लगत्तै अहिले भारतीय नम्बर प्लेटका सवारी साधन धमाधम नेपाल प्रवेश गर्न थालेका छन् । भारतीय नम्बर प्लेटका सवारी साधनले अस्थायी भन्सार महसुल बुझाएर निर्वाधरुपमा नेपालमा घुम्न सक्ने कानुनी व्यवस्था रहेपनि भारतको पश्चिम बंगालस्थित पानीट्याँकी रानीगञ्ज नाका सञ्चालनमा नआउँदा भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल आउन पाएका थिएनन् ।
शुक्रबारबाट नाका सञ्चालन भए लगत्तै अहिलेसम्म १ सय १८ वटा भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले बताउनुभयो । उहाँका अनुसार शुक्रबार ९५ र शनिबार सवा ११ बजेसम्म २३ वटा भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गरेका हुन् ।

नेपाल सरकारले भारतसँग सीमा जोडिएका सबै नाका खोल्ने यसअघि नै निर्णय गरेको भएपनि भारततर्फको नाका सञ्चालनमा नआउँदा काँकरभिट्टा नाकाबाट यो सुविधा अहिलेसम्म कसैले लिएका थिएनन् । कोभिड १९ को संक्रमणसँगै डेढवर्ष अघिदेखि बन्द रहेको भारतीय सवारी साधनको भन्सार १८ असोजबाट खुला गरेको थियो ।
तर, नेपालको पूर्वीनाका काँकरभिट्टासँग सीमा जोडिएको भारतको पश्चिम बंगालको पानीट्याँकी स्थित रानीगञ्ज नाका सञ्चालनमा आउन नसक्दा भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल आउन पाएका थिएनन् । भारतीय नम्बर प्लेटका सवारी साधनको भन्सार खुला गरेपछि चौबीस घण्टाको ५ सय रुपैयाँ राजस्व बुझाएर अस्थायी पैठारी लिएपछि निर्वाधरुपमा नेपालका हरेक ठाउँमा पुग्न सक्ने मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत केशव ओलीले बताउनुभयो । भारतीय सवारी साधनले नेपाल प्रवेश पाए पछि नेपाल घुम्न आउने भारतीय पर्यटकहरुलाई सहज भएको छ ।
कोभिड १९ को पहिलो कहरसँगै २०७६ साल चैत १ गतेबाट नेपाल र भारत सरकारले दुवैतर्फबाट नाका बन्द गर्दा नेपालसँग सीमा जोडिएको भारतीय नाका पानीट्याँकी हुदैँ कुनै पनि सवारी साधन नेपालको काँकरभिट्टा नाका भएर भित्रिन पाएका थिएनन् । पश्चिम बंगाल सरकारले अघिल्लो वर्षकोे चैत २६ गतेदेखि पानीट्याँकी स्थित रानीगञ्ज नाका ठप्प पार्दा नेपाल प्रवेश गर्नै भारतलगायत तेस्रोमुलुकबाट विभिन्न सामान बोकेका मालवहाक सवारी साधनको आवतजावत शुन्य हुँदा आयात निर्यात नराम्ररी प्रभावित भएको व्यवसायीहरुको भनाई थियो ।


























