४ साउन, मेचीनगर : पूर्वीनाका काँकरभिट्टाबाट भारत, बंगलादेश र भूटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार आर्थिक बर्ष २०७८/०७९ मा यो नाका भएर भारतबाट ३६ अर्ब १८ करोड मूल्य बराबरको सामान आयात भएको छ भने नेपालबाट १० अर्ब ६९ करोड ९५ लाखको सामान मात्र निर्यात भएको छ ।
निर्यातभन्दा आयात बढी भएको कारण भारतसँग काँकरभिट्टा नाकामार्फत नेपालको व्यापार घाटा २५ अर्ब ४८ करोड २७ लाख भएको कार्यालयको तथ्यांकमा देखिन्छ ।
उता, व्यापारमा बंगलादेश र भूटानसँग नेपालको व्यापार घाटा क्रमश १० अर्ब नौ करोड ९९ लाख र ७४ करोड ८६ लाख पुगेको ओलीको भनाई छ ।
आर्थिक बर्ष २०७८/०७९ मा १० अर्ब ६५ करोड ३५ लाख बराबरको सामान बंगलादेशबाट आयात भएको थियो भने नेपालबाट ६० करोड ४५ लाखको मात्र सामान निर्यात भएको भन्सारको तथ्यांकमा उल्लेख छ ।
सोही अवधिमा भूटानबाट एक अर्ब २० करोड ५३ लाखको सामान आयात भएको थियो भने ४५ करोड ६५ लाखका मात्र सामान निर्यात भएको थियो । बंगलादेश र भूटानसँग नेपालले यही नाकामार्फत व्यापार गर्दै आएको छ । भारतसँग अरु नाकाबाट समेत व्यापार सञ्चालन हुन्छ ।
बंगलादेशसँगको व्यापार घाटा बर्षेनी बढ्दै गएको छ । बंगलादेशसँग नेपालले आव २०७७/०७८ मा ६ अर्ब ४८ करोड ३३ लाख ४३ हजार र आव २०७६/०७७ मा ३ अर्ब ९९ करोड ४३ लाख ११ हजार व्यापार घाटा व्यहोरेको थियो ।
यता, मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक बर्ष २०७८/०७९ मा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । प्रमुख भन्सार अधिकृत केशवराज ओलीले सो आवमा १७ अर्ब ५३ करोड १९ लाख ३३ हजार राजस्व संकलन गर्न सफल भएको बताउनुभयो ।
भन्सारले १५ अर्ब ७५ करोड ४७ लाख ८७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ सय ११ दशमलव २८ प्रतिशत राजस्व असुली भएको भन्सार प्रमुख ओलीले जानकारी दिनुभयो । पेट्रोलियम पदार्थ र सुपारीको आयात पूर्वी नाकाबाट बढी भएका कारण राजस्व संकलनमा वृद्धि भएको हो ।
























