१३ वैशाख, काँकरभिट्टा : सुसेली साहित्यिक परिवारको आयोजनामा काव्यगोष्ठी तथा पुरस्कार अर्पण कार्यक्रम आइतबार काँकरभिट्टा खानेपानीको सभाकक्षमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रसिद्ध साहित्यकार, कवि तथा सहप्राध्यापक होम सुवेदीले गर्नुभएको थियो। उद्घाटन सत्रमा विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अक्षयकोषदाता पार्वती खरेल, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, प्रलेस कोशी प्रदेश अध्यक्ष विन्दु दाहाल, प्रा. डा. गङ्गाप्रसाद अधिकारी, साहित्यकार तेराख प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेल, लेखनाथ पुस्तकालयका अध्यक्ष नवराज घिमिरे, अरुणोदय इङ्गलिस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक दुर्गाबहादुर लुइटेल, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी, काँकरभिट्टा क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेती तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक वीरेन्द्र कोइराला लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा विभिन्न पुरस्कारहरू प्रदान गरिएको थियो। रु. २१,००० राशिको विजय–पार्वती खरेल साहित्य पुरस्कार सहप्राध्यापक चूडामणि वशिष्ठलाई प्रदान गरिएको छ। त्यस्तै, रु. १५,००० राशिको डा. मुकेशकुमार–जनककुमारी चालिसे विज्ञान पुरस्कार धनबहादुर श्रेष्ठलाई तथा रु. ११,००० राशिको सुसेली प्रतिभा पुरस्कार विशाल कँडेललाई प्रदान गरिएको हो।
कार्यक्रममा विभिन्न स्रष्टाहरूले कविता तथा गीत वाचन गरेर वातावरणलाई साहित्यिक रंगले भरिपूर्ण बनाएका थिए। कविहरू होम सुवेदी, गङ्गाप्रसाद अधिकारी, देशु सुब्बा, कृष्णप्रकाश सुमार्गी, लीना भण्डारी, तुलसीप्रसाद भट्टराई, हरिप्रसाद नेउपाने, दुर्गाप्रसाद सिग्देल, जयप्रसाद आचार्य, मदन अधिकारी, चूडामणि वशिष्ठ र विशाल कँडेलले कविता वाचन गरेका थिए भने अर्जुन लम्साल र गङ्गा ओडारीले गीत प्रस्तुत गरेका थिए।
पुरस्कार वितरणपछि विशिष्ट अतिथि तथा वक्ताहरूले साहित्य, विज्ञान र समाजसेवाको महत्वबारे आफ्ना धारणा व्यक्त गरेका थिए। अक्षयकोषदाता दीपा खरेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमका अध्यक्ष पुण्यप्रसाद खरेलले समापन मन्तव्य दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन सुसेली साहित्यिक परिवारकी सदस्य सुभद्रा भट्टराईले गर्नुभएको थियो भने स्वागत मन्तव्य कोषाध्यक्ष भूवन सुब्बाले प्रस्तुत गर्नुभएको थियो।
























