४ साउन, झापा : हिजोका दिनमा दुःखी, पिडित खिनमाया रोएको भिडियो हेरर धेरैजना रोएका थिए, आज खिनमाया फेरी रोइन प्रत्यक्ष हेर्नेहरु हाँसे । किन कि खिनमयाको रुवाइ खुशीको थियो ।
झापा अर्जुनधारा–५ की खिनमायाकोमा शुभकार्यमा एकै दिन धेरै मानिसहरु भेला भएको सायदै पहिलो दिन होला । हिजोका दिनमा खिनमायालाई भेट्नेहरुले बिचरा कठैबरा कती दुःखी भनेर सहानुभूती व्यक्त गर्थे, सकैले सकेको केही सहयोग पनि गर्ने गरेका थिए । खिनमायाको घरमा आएर खिनमायासंँग फोटो खिचाउने उनको घर अवलोकन गर्नेहरु कोही थिएनन् । तर आज घरभरी मान्छे त्यसमा पनि परोपकारी भावना भएकाहरुको उपस्थितिले खिनमायाको मन फुरुंग भएको छ, आज पनि खिनमाया खुशीले रोएकी छन् ।

हिजोका दिन सम्म राम्रो लाउने कुरा त परैजावोस् पेटभरी खान सम्म नपाएर समस्यामा परेकी अतिविपन्न वर्गकी खिनमाया पौडेको समस्याको बारेमा यस अघि धेरैले थाहाँ पाईसकेको अवस्था छ । आज भने खिनमायाको खुशी र उमंगलाई तपाईहरु समक्ष प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
यस अघि खिनमायाको कठिन अवस्थालाई आमसंचार डटकमले समुदायमा देखाए पछि समुदायका सहयोगी मनकारीहरुले भौतिक सामग्री तथा नगद उपलब्ध गराएका कारण आज मजबुद, आकर्षक घर निर्माण सम्पन्न गराएर समुदायले आज खिनमायालाई घर हस्तान्तरण गरेको छ ।

खिनमाया घर निर्माण समन्वय समितिका अध्यक्ष ओमप्रकाश लुइटेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली सेना श्री नयाँ श्री नाथ गण चारआलीका गणपति अमरजंग कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । घर निर्माणका लागि शेरबहादुर थापा, अर्जुन कडेल, कुलप्रसाद खरेल, सोना गेलाल, उमेश उपरकोटी, रुद्रप्रसाद ढकाल, सुरज काफ्ले, डिके सेल्स एण्ड सर्भिस, हेमन्त चौहान, तेजु भण्डारी, हेल्पिङ हेण्डस् कनकाई फाउण्डेशन, हेल्पिङ हेण्डस् जापान, देवेन्द्र थापा, पदम पौडेल त्यसैगरी जीवन उप्रेती, जीत कार्की, रामप्रसाद श्रेष्ठ, दहिझोडा, नमुना, जुकेखाडी सामुदायिक वन समिति, सञ्जय अग्रवाल, राहुल अग्रवाल, प्रविन अग्रवाल, पुरुषोतम अग्रवाल, अशोक साहेवाल, मुनमुन अग्रवाल लगायतले सहयोग गरेको खिनमाया घर निर्माण समन्वय समितिका सचिव जीवन खतिवडाले बताउनु भयो ।
कार्यक्रममा दाताहरुलाई फुलगुच्छाले सम्मान गरिएको थियो भने समाचार सम्प्रेषण गरेर सहयोग गर्ने आमसंचार डटकमका समाचार प्रमुख विनोद पाण्डे र घर निर्माणमा श्रमदान गराउने नेपाली सेना श्री नयाँ श्री नाथ गण चारआलीका गणपति कार्यक्रमका प्रमुख अतिथि अमरजंग कार्कीलाई कदर पत्र र नेपाली टोपी ओढाएर सम्मान गरिएको थियो । सम्मानितहरुलाई अध्यक्ष लुइटेल, सचिव खतिवडा र खिनमायाले सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कार्कीले भन्नु भयो ‘म झापामा पहिलो पटक आएको हो, म विगत १८ महिना देखि यहाँ रहेको छु । मैले यो सयम सम्म झापालाई बुझदा यहाँको समाज यती धेरै विशिष्ठ, विकसित रहेछ, अरुको दुःख, कष्टमा यति धेरै सहयोग गर्ने समाज रहेछ, मैले व्यक्तिगत रुपमा झापाबाट सिकेर बुझेर यहाँबाट जादाँ लिएर जाने विषय बनेको छ ।’
घर हस्तान्तरण कार्यक्रममा दताहरु शेरबहादुर थापा, कुलप्रसाद खरेल, मदन बुढाथोकी, हेमराज सापकोटा लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमा स्वागत कमल पोखरेलले गर्नुभएको थियो भने संचालन सचिव जीवन खतिवाडाले गर्नुभएको थियो । कार्यक्रमको अनत्यमा सभाध्यक्ष लुइटेलले सबै दाताहरुलाई धन्यवाद दिदै घर निर्माण समिति आजकै दिनबाट भंग भएको जानकारी गराउनु भयो ।
फोटो : विनोद पाण्डे


























