६ चैत, मेचीनगर : दान खालिङको साहित्यिक , राजनीतिक र शैक्षिक योगदान लगायतका विभिन्न विषयहरुमा शनिबार बहस भएको छ । टाडिकुञ्ज परिवारको आयोजना र मिक्लाजुङ साहित्य समाजको सहकार्यमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि
मिक्लाजुङ —६ का वडाध्यक्ष बुद्घिलाल निरौला हुनुहुन्थयो । दिवंगत स्रष्टा विशेष अंकमा यस अघि ‘हिरा आकाश र उहाँका सिर्जना’ कार्यक्रम सम्पन्न गरिएको थियो ।
अग्रज पत्रकार एवम् साहित्यकार, गीतकार तथा गायक चन्द्र भण्डारी, साहित्यकार मिश्र बैजयन्ती र छविलाल खतिवडा छलफलमा सहभागी बक्ताको रुपमा रहनु भएको थियो भने साहित्कार धनकुटे कान्छाले सहजकर्ताको भुमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रममा दान खालिङको दुईवटा कविताहरु ‘स्मृति दह’ र ‘असिमको सिमा’ क्रमशः बिष्णु न्यौपाने र विवश बलिभद्र कोइरालाले वाचन गर्नुभएको थियो ।
साहित्यकार दान खालिङ माथि सुमित्रा वाङ्देल ‘चेली ’ र अभागी ‘थेगुवा’ ले लेख्नु भएका दुई कविताहरु क्रमशः ‘खालिङ सर ’ र ‘नवमी नानालाई ’ वाचन गरिएको थियो ।
कार्यक्रममा सञ्चारकार्मी तथा साहित्यकार ‘शिरोसान्दाइ’ ले शुभकामना मन्तव्य राख्नुभएको थियो भने इलाम, झापा, मोरङ्ग र सुनसरीका विभिन्न स्रष्टाहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रमको व्यवस्थापन ‘मधुमल्ला पाटी प्यालेस’ का सञ्चालक दिङ्गले काईलाले गर्नुभएको थियो । आगामी दिनहरुमा पनि यो शृखलालाई अभियानका रुपमा निरन्तर अघि बढाइने अग्रज सञ्चारकर्मी भण्डारीले बताउनुभयो ।
































