झापामा ५ दशमलव १३ प्रतिशत मत बदर

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
२७ फागुन, मेचीनगर :  झापामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी देखिएको निर्वाचन कार्यालय झापाले जनाएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा झापा जिल्लामा ५ दशमलव १३ प्रतिशत मत बदर भएको छ । कुल सात लाख १३ हजार पाँच सय ३७ मतदाता रहेको झापामा चार लाख ५८ हजार तीन सय ६२ वा ६४ दशमलव २४ प्रतिशत मत खसेको थियो । अघिल्ला चुनावको तुलनामा फागुन २१ मा सम्पन्न निर्वाचनमा बदर मत संख्या कम भएकाले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार सवैभन्दा बढी निर्वाचन क्षेत्र नम्बर ३ मा ६ दशमलव ३८ प्रतिशत मत बदर भएको छ । एक लाख ४० हजार आठ सय ५७ मतदाता रहेको ३ नम्बर क्षेत्रमा ८८ हजार चार सय ४९ जनाले मात्र मतदान गरेका थिए । जुन ६२ दशमलव ७९ प्रतिशत हो ।

सवैभन्दा कम्ति निर्वाचन क्षेत्र नम्बर ५ मा ३ दशमलव ९५ प्रतिशत मत बदर भएको कार्यालय प्रमुख तुलसीप्रसाद नेपालले जानकारी दिए । नेपालका अनुसार ५ नम्बर क्षेत्रमा कुल एक लाख ६३ हजार तीन सय ७९ मतदाता भए पनि एक लाख ६ हजार तीन सय ७२ वा ६५ दशमलव ११ प्रतिशत मत खसेको थियो । १ नम्बर क्षेत्रमा ५ दशमलव १७ प्रतिशत, २ नम्बर क्षेत्रमा ४ दशमलव ६६ प्रतिशत र ४ नम्बर क्षेत्रमा ५ दशमलव ८२ प्रतिशत मत बदर भएको छ ।
२०७९ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको तुलनामा फागुनमा सम्पन्न निर्वाचनको बदर मत संख्या थोरै कम हो । २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ६ दशमलव ५ प्रतिशत मत बदर भएको कार्यालय प्रमुख नेपालले बताए । निर्वाचन आयोगले मत बदर हुन नदिनका लागि फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम गरेको उनले बताए ।
‘मतदाता शिक्षा कार्यक्रम प्रभावकारी भएको छ,’ कार्यालय प्रमुख नेपालले भने, ‘स्वयंसेविकाहरूले घरदैलोमै पुगेर मतदातालाई मतदान गर्ने तरिका, मत कसरी कास्ट गर्ने, मत बदर हुन नदिन अपनाउनुपर्ने सावधानी लगायत विषयमा जानकारी दिइरहेका छन्। नमुना मतपत्र, छापलगायत सामग्री प्रयोग गरेर व्यावहारिक अभ्यास समेत गराइँदा मतदाता शिक्षा थप प्रभावकारी बनेको हो । ’ निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन मतदाता शिक्षाको महत्वपूर्ण भूमिका रहने राजनीतिक विश्लेषक सुदर्शन कार्कीको भनाई छ ।
निर्वाचन आयोगले मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत गर लगत्तै मतदाता शिक्षाका लागि प्रत्येक वडामा एक÷एक जना स्वंयसेवकहरू खटिएका थिए । मतदाता शिक्षा कार्यक्रमको मुख्य उद्धेशय आम मतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गर्ने, जसमार्फत जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास हुने आयोगकोे अपेक्षा थियो ।
मतदानको कार्यमा आम मतदाताको सहभागीता अभिवृद्धि र बदर मतको संख्या न्यूनीकरण गर्नु मतदाता शिक्षा कार्यक्रमको अर्को उद्देश्य थियो । मतदाता शिक्षाका लागि आम सञ्चार माध्यम, सामाजिक सञ्जाल र स्वयम् सेवक परिचालन गरिएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
स्वयंसेवकले मतदाताले मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्व, निर्वाचन आचारसंहिता तथा गलत एवम् भ्रामक सूचनाबाट बच्ने उपायबारे जानकारी दिएका थिए । देशभरका नगरपालिका तथा गाउँपालिकाका स्थित छ हजार सात सय ४३ वडामा फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको थियो । प्रत्येक वडामा स्वयंसेविकाले घर–घरमा नमुना मतपत्र मार्फत स्वस्तिक छाप कसरी लगाउने, मतपत्र कसरी पट्याउने तथा मतपेटिकामा कसरी राख्ने भन्ने विषय सिकाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.