२० चैत, मेचीनगर : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेचीनगर नगरपालिकाको प्रमुखका लागि विभिन्न दलका केन्द्रीय सदस्य, प्रदेश सभा सदस्य, प्रदेश सभा सदस्यमा पराजित उम्मेद्वारहरु तथा पार्टीका वर्तमान र पूर्व क्षेत्रीय सभापतिहरुले समेत आकांक्षा देखाएका छन् ।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा झापाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत ‘ख’ बाट तात्कालिन बामगठबन्धनबाट विजयी गोपालचन्द्र बुढाथोकी, प्रदेश सभा सदस्यमा ‘क’ बाट पराजित बनेका नेपाली काँग्रेसका वर्तमान झापा जिल्ला उपसभापति केशवराज पाण्डे, नेकपा एमालेका केन्द्रीय सदस्य तथा वर्तमान नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले इच्छा देखाएका हुन् ।

झापाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत ‘क’ बाट तात्कालिन बामगठबन्धनबाट विजयी श्रीप्रसाद मैनाली, तात्कालिन काँकरभिट्टा गाविसका अध्यक्ष एवम् नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरे, तात्कालिन बाहुनडाँगी गाविसका अध्यक्ष एवम् नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य निलकण्ठ तिवारी, नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, पूर्व क्षेत्रीय अध्यक्ष मणिकुमार उप्रेती टिकटको दौडमा छन् । नेकपा एमाले महिला नेतृहरु लता प्रसाई, रेणुका डाँगी, नेपाली काँग्रेसका महिला नेतृहरु राधा कार्की, विना तामाङको नाम पनि उपप्रमुखको टिकटको दौडमा छ । स्थानीयको मागअनुसार आफूहरुले पालिका उप प्रमुखमा उम्मेदवारी दिन लागेको उहाँहरुको भनाई छ ।

झापाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत ‘ख’ बाट गोपालचन्द्र बुढाथोकीले नेपाली काँग्रेसका अशोक पोखरेललाई ७ हजार ८ सय ६१ मतान्तरले पराजित गर्नुभएको थियो । बुढाथोकीले १७ हजार ८ सय ३९ मत प्राप्त गर्दा पराजित उम्मेदवार पोखरेलले ९ हजार ९ सय ७८ हात पारेका थिए । तीनै प्रदेशसभा सदस्य बुढाथोकीले अहिले भने मेचीनगर नगरपालिकाको प्रमुखमा इच्छा देखाएको पार्टी स्रोतको भनाई छ । उम्मेदवारी दिनुअघि प्रदेश सांसदबाट राजीनामा दिने उहाँको तयारी रहेको स्रोतको भनाई छ ।

नेपाली काँग्रसकातर्फबाट केशवराज पाण्डे प्रदेशसभा सदस्यतर्फ क्षेत्र नम्बर १ ‘क’ मा एमालेका श्रीप्रसाद मैनालीसँग पराजित हुनुभएको थियो । मैनालीले पाण्डेलाई ५ हजार ७ सय ३२ मतान्तरले पराजित गर्नुभएको थियो । मैनालीले २२ हजार ९ सय ७२ मत ल्याएर विजयी हँुदा पराजित उम्मेदवार पाण्डेले १७ हजार २ सय ४० मत प्राप्त गर्नुभएको थियो । पाण्डे अहिले मेचीनगर नगरपालिकाको नगर प्रमुखको टिकटको दौडमा रहेको काँग्रेस निकट स्रोतले जनाएको छ ।

उता प्रदेशसभा सदस्यतर्फ क्षेत्र नम्बर १ ‘क’ बाट विजयी बामगठबन्धनका प्रदेशसभा ससदस्य श्रीप्रसाद मैनालीले पनि घुमाउँरो पाराले पार्टीले योग्य ठानेमा नगर प्रमुखमा उठ्न तयार रहेको र पार्टीले निर्णय गरेमा उठ्न तयार रहेको स्पष्ट पार्नुभएको छ । मैनालीले मौखिक रूपमा नगरप्रमुखको दाबी नगरे पनि निकटबाट आफ्नो नाम चर्चा गर्न लगाएर परिस्थिति बुझिरहेको एमाले स्रोतले बतायो ।

टिकटको प्रवल सम्भावना बोक्नु भएकी नेकपा एमाले केन्द्रीय सदस्य एवम् वर्तमान नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको यतिखेर काठमाण्डौ धाउने क्रम बाक्लै छ । उपप्रमुख भईसकेपछि एकपटक नगर प्रमुख हुने इच्छा भएकै कारण टिकटका लागि निक्कै दौडधुप छ उप्रेतीको । स्रोतका अनुसार नगरप्रमुखका लागि उहाँकै टिकट पक्का जस्तै हो । उहाँ अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वासिलो पात्रका रुपमा पनि हुनुहुन्छ । एमालेबाट आधादर्जनबढीले नगरप्रमुखमा आकाँक्ष देखाए पनि गोपालचन्द्र बुढाथोकी र मीना पोखरेल उप्रेतीमध्ये एकको टिकट हात पर्ने एमाले सचिवालय सदस्यको भनाई छ । ‘आफैंले उठ्छु भनेर हुँदैन,’ उप्रेतीले भन्नुभयो, ‘पार्टीले भनेमा पछि हट्दिन, पार्टीको निर्णय सर्वोपरी हुनेछ ।’

अघिल्लो स्थानीय तहको निर्वाचनमा नगरको उपप्रमुखमा एमाले उम्मेदवार मिना पोखरेल उप्रेती १९ हजार ९ सय ९४ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँकी निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसकी दुर्गादेवी खतिवडाले १९ हजार ७७ र माओवादी केन्द्रबाट उपप्रमुखकी उम्मेदवार बन्नु भएकी इन्दिरा कार्कीले ७ हजार ६ सय ६८ मत प्राप्त गर्नुभएको थियो ।
वर्तमान नगरप्रमुख विमल आचार्यले भने प्रदेश सभा सदस्यमा इच्छा व्यक्त गर्नुभएको छ । आसन्न निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने र चुनावको तयारीमा लाग्नेहरू धेरैजसो पुरानै अनुहार छन् । गत निर्वाचनमा पराजित भएकाहरू नै उम्मेदवार बन्न तँछाडमछाड गरिरहेका छन् ।

मर्यादाक्रम तल भए पनि पर्याप्त बजेट परिचालन गर्ने अवसरका कारण प्रदेशका सांसदहरुसमेत स्थानीय तहको प्रमुखमा चुनाव लड्ने तयारीमा देखिएको पार्टी स्रोतको भनाई छ । मेचीनगर नगरपालिकाको प्रमुखमा केन्द्रीय नेता र प्रदेश सभा सदस्य भइसकेकाहरुकै आकांक्षा देखिएका कारण यसलाई पुष्टि गर्ने नेपाली काँग्रेसका एक नगर समिति सदस्यको भनाई छ । प्रदेशको तुलनामा स्थानीय तहमा पर्याप्त बजेट परिचालन गर्ने अवसर मिल्ने भएकाले सांसदहरूले स्थानीय तहमा उम्मेदवार बन्ने तयारी गरेको राजनीतिक विशलेषक प्रदिप कार्कीको भनाई छ ।

‘मर्यादाक्रम तल भए पनि आर्थिक परिचालनको आकर्षणले प्रदेश सांसदहरू स्थानीय तहको प्रमुखमा चुनाव लड्ने तयारीमा जुटेका छन् ’नेकपा एमालेका एक जिल्ला कमिटी सदस्यले भने —‘यसले गर्दा आसन्न निर्वाचनमा पुरानै अनुहार दोहोरिने सम्भावना पनि छ ।’ पार्टीमा नयाँ, कुशल र स्थानीय तह हाँक्ने नेतृत्व तयार गर्न नसक्दा पुरानै उम्मेदवार आसन्न निर्वाचनमा दोहोरिने सम्भावना रहेको राजनीतिक विश्लेषकहरुको भनाई छ ।

अघिल्लो निर्वाचनमा उमालेबाट पराजित विष्णुप्रसाद प्रसाई भने यसपालि नगर प्रमुखको दौडबाट बाहिर छन् । कांँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको गृह नगर मेचीनगर नगरपालिकामा काँग्रेस उम्मेद्वार विमल आचार्य नगरप्रमुखमा निर्वाचित हुनुभएको थियो । उहाँले २० हजार ७ सय ७६ मत प्राप्त गर्नुभएको थियो । आचार्यका निकटम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाईंले १९ हजार ४ सय २२ र माओवादी केन्द्रका हंशलाल राजवंशीले ७ हजार ६ सय ९४ मत ल्याउनुभएको थियो । यता माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले दलले समेत निर्वाचनमा जिल्ला, क्षेत्र, नगर हाकि सकेकालाई उम्मेद्वार बनाउने योजना बनाएको छ ।

























