मेचीनगरमा पुष्पलालको ४४ औँ स्मृति दिवस

A notice in Nepali from Mechinagar Ward No. 10
७  साउन, मेचीनगर : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवस शनिबार झापाको मेचीनगरमा विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।
मेचीनगर ६ काँकरभिट्टास्थित  विपी पुष्पलाल बाटिका तथा सहिद स्मृति प्रतिष्ठानमा रहेको नेपाली काँग्रेसका नेता विश्वेश्वर प्रसाद कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालीकमा माल्यर्पण र खादा पहिर्याएर  दुवै नेताप्रति श्रद्धा सुमन अर्पण गरिएको थियो ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापाका सहइञ्चार्जहरु रविन कोइराला, मीना पोखरेल उप्रेती, प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकीलगायतका नेता कार्यकर्ताहरुले नेताहरुको शालिकमा माल्यर्पण र खादा पहिर्याएर  दुवै नेताप्रति श्रद्धा सुमन अर्पण गर्नुभएको थियो ।
 कार्यक्रममा बोल्दैं केन्द्रीय सदस्य कोइरालाले सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको बताउनुभयो । उहाँले पुष्पलालले निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी र पुष्पलालको भनाइ अनुसार मोतीदेवीसमेत पाँचजना भएर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको स्पष्ट पार्नुभयो । विसं १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा गोली हानी हत्या गरिएपछि दाजुको अभियानलाई पूरा गर्न पुष्पलालले राजनीतिक यात्रा सुरु गरेका थिए।
त्यही कारण पनि नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाललाई नेपालभरिका कम्युनिस्ट पार्टीले सम्झने गरेको एमाले नेताहरुको भनाई  छ ।
पुष्पलालले आफू कम्युनिस्ट बन्नुभन्दा अगाडि बनारसमा स्थापित नेपाली राष्ट्रिय कांग्रेस पार्टीको कार्यालय सचिव भएर काम गर्नुभएको थियो ।
काँग्रेस छाडेपछि चीनमा भइरहेको क्रान्ति र सफलता, विश्वका देशमा भइरहेको मुक्ति आन्दोलन र दोस्रो विश्वयुद्धबारे समेत उनले अध्ययन गरेपछि नेपालमा पनि कम्युनिष्ट पार्टीको स्थापनाको आवश्यकता महसुस गरी नेकपा स्थापना गर्नुभयो । पुष्पलालको नेतृत्वमा नेपालमा पहिलोपटक विसं २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । पार्टी स्थापना गर्दा कोलकाताको श्यामबजारस्थित एक भवनमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए । उहाँले स्थापना गरेको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिष्ट पार्टी बनेका छन् । पछिल्लो पटक २०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिली पुनः अहिले त्यही नेकपा पार्टी बनेको छ ।
आफ्नो जीवनभर सङ्गठन विस्तारमा लागेका उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन पनि गनुृभएको थियो । पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत हुन् । पञ्चायती निरङ्कुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ २०२५ सालमा अगाडि सार्ने उनी पहिलो नेता हुन् ।
उहाँले नेकपा स्थापना गर्दा घोषणापत्रमा सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता, स्वाधीनता हासिल गर्ने, वालिग मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र सुरक्षण गर्ने, मजदूर किसान श्रमजीवी जनताको हितलाई प्राथमिकता दिने उल्लेख थियो । यस्तै घोषणापत्रमा सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिहरूको सरकार स्थापना गर्ने तथा क्रान्तिकारी भूमिसुधार लागू गर्नेसमेत समावेश थियो ।
घोषणापत्रलाई नेपाली भाषामा प्रकाशित गरी नेपाली मजदूर वर्गको आन्दोलनलाई सही बाटोमा लैजान अत्यन्त आवश्यक भएको हुनाले उहाँले घोषणापत्रलाई यथाशक्य परिश्रम गरी नेपालीभाषामा उल्था गरी नेपालको सम्मानमा राख्नुभयो ।  यसलाई नेपाली माक्र्सवादीले माक्र्सवादी चेतना र साहित्यको थालनीका रुपमा समेत अर्थ्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.