१४ भदौ मेचीनगर : झापाको मेचीनगरमा चरा र वन्यजन्तु संरक्षणकालागि मेची चरा तथा वन्यजन्तु संरक्षण समाज गठन भएको छ । मेचीनगर ७ केन्द्रीय कार्यालय रहेको समाजको मंगलबार पत्रकार सम्मेलन मार्फत घोषणा भएको हो ।
लामो समयदेखि चरा सम्बन्धी खोज र अनुसन्धान गरिरहेका मेचीनगर–७ निवासी देवेन्द्र खरेलले मेची चरा तथा वन्यजन्तु संरक्षण समाज गठन गर्नु भएको हो ।
प्रेस क्लब मेचीनगरको सभाहलमा समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका अध्यक्ष खरेलले स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय झापाबाट विधिवत संस्था दर्ता गरेर ल्याएको सार्वजनिक गर्नुभएको थियो ।
उहाँले मेचीनगरमा ३ सय प्रजातिका चराहरु रहेकाले तिनको संरक्षण गरिने बताए । मेचीनगर–१५ को पाहन वस्ती, वडा नम्बर ३ को कुसढुगां र वडा नम्बर १० को धुलाबारी र वडा नम्बर १ मा चराहरुको बासस्थान रहेको उहाँको भनाई छ ।
चराहरु एकै ठाउँमा नबस्ने, उनीहरु स्वतन्त्र हुने उहाँको भनाई छ । मेचीनगरमा चरा संरक्षित क्षेत्र (वर्ड सेन्च्युरी) घोषणा गर्ने योजना रहेको खरेलले बताउनुभयो । खरेलले यसअघि मेचीनगर–७ स्थित सतिघट्टा क्षेत्रमा लोप भइसकेका हरित परेवा र इलाम सुर्योदय नगरपालिका–१ मा हंग्रायो चरा फेला पार्नुभएको पत्रकार सम्मेलनमा बताउनुभयो ।
पत्रकार सम्मेलनमा पत्रकारहरु मोहन काजी, दिपिन राई, कुमार भट्टराई, ज्ञानेन्द्र निरौला, लक्ष्मी उप्रेती, पर्वत पोर्तेल लगायतले चराको संरक्षणका विषयमा सुझाव र जिज्ञासा राख्नुभएको थियो । समाजका सचिव एसपी लुईटेलले चरा, मानाव र वन्यजन्तु संरक्षणका विषयमा चर्चा गर्नुभयो । प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षता, स्वागत उपाध्यक्ष जीआर धितालले र सञ्चालन सचिव देबु बानियाँले गर्नुभएको थियो ।
























