झापा । काठमाडौंबाट विशेष कार्यक्रम लिएर गृहजिल्ला झापा पुगेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चन्द्रगढी विमानस्थलबाट सीधै पृथ्वीनगर पुगे ।
भद्रपुर नगरपालिका-१ पृथ्वीनगरमा ९० वर्षीया बुबा मोहनप्रसाद ओली बस्छन् । बुबालाई भेट्न ओली पुग्दा कार्यकर्ता र समर्थकले पृथ्वीनगरस्थित मोहनप्रसादको घर घेरिसकेका थिए ।

केहीबेर बुबा र छोराबीच भलाकुसारी चल्यो । घरबाहिरै कुर्सीमा बाबु छोरा बसेर सन्चो बिसन्चोका कुरा गरेपछि ओली कार्यक्रमका लागि विर्तामोडतिर लागे । छोरासँग कुरा गरेपछि मोहनप्रसादले अब चुनावपछि एमालेले एक्लै बहुमत ल्याउने दावी गरे ।
छोरालाई आफूले आशीर्वाद दिएको भन्दै ओलीले भने, ‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ । फागुनपछि मेरै छोरो प्रधानमन्त्री बन्छ त्यो पनि पाँच वर्ष एकलौटी चलाउनेगरी, हेरि राख्नुस् ।’
केपी ओलीलाई षड्यन्त्र गरेर हटाए पनि जनताले फेरि सत्तामा पुर्याउने भन्दै उनले आफ्नो आशीर्वाद सधैँ रहेको बताए । दुईपटक मिर्गौला फेरेका छोरोलाई अझै २० वर्ष केही नहुने समेत उनले दावी गरे ।


नेपालप्रेसबाट
























