लैङ्गिक हिंसामुक्त समाजका लागि शुरुवात आफूबाटै गर्न जोड

A notice in Nepali from Mechinagar Ward No. 10

 

तुलसीप्रसाद निरौला

बिर्तामोड , मंसीर २५ ।  लैङ्गिक हिंसा न्यूनीकरण र मानव अधिकार रक्षाका लागि सबै सरोकारावाला चनाखो हुनुपर्नेमा जोड दिइएको छ ।लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा बिहीबार झापाको बिर्तामोडमा आयोजित छलफलमा स्थानीय सरकारका उपप्रमुख तथा महिला नेतृहरुले यस्तो बताएका हुन् ।

हिंसापीडितलाई न्याय दिलाउने प्रक्रियामा पीडकको पक्षबाट राजनीतिक तथा समूहगत दवाब झेल्नु परेको उनीहरुले बताए ।

बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्य र कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईंले न्याय सम्पादन गर्ने कार्यमा धेरै दवाब र चुनौति झेल्नु परेको बताए ।
राजनीतिक पूर्वाग्रह, डर, धम्की, लोभबाट माथि उठेर न्याय दिलाउन आफूहरु प्रतिबद्ध रहेको उनीहरुले बताए ।

राजनीतिक लगायतका दवाब, प्रभाव एकातिर छ भने पीडितले न्याय माग्न अझ डराइरहेको अवस्थाले पनि न्याय सम्पादनमा चुनौति खडा भएको बताइएको छ ।
लैङ्गिक हिंसा तथा मानव अधिकार उल्लंघनका घटना बढिरहेको प्रति छलफलमा सहभागीले चिन्ता व्यक्त गरे ।

महिला नेतृहरुले हिंसापीडितलाई न्याय दिलाउनका लागि कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिए । राजनीतिक पूर्वाग्रहबाट मुक्त भएर सरकारका प्रतिनिधिले न्याय दिलाउनुपर्ने उनीहरुले बताए ।
हिंसा न्यूनीकरणका लागि सचेतना, कानूनी शिक्षा, अभिवृद्धि, हिंसापीडितका लागि सेफ हाउस निर्माण, पीडितलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनुपर्नेमा सहभागीको जोड थियो ।

छलफलमा एबीसी नेपाल झापा शाखाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, नारी कल्याण संघ झापाकी अध्यक्ष प्रेमा भट्टराई, मेची –महाकाली बुहारी आवाज झापाकी संयोजक शिखा खड्का गणेश, नेपाल महिला संघकी उर्मिला ढकाल पोखरेल, वीरता लेडी जेसीजकी अध्यक्ष सुष्मा भण्डारी पौडेल, लाइन्स क्लव अफ बिर्तामोड लेडीकी अध्यक्ष उर्मिला विमली खरेल, बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष पार्वता खरेल विमली, महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुब्बा, राष्ट्रिय आदिवासी जनजाति महासंघकी माया गुरुङ, अर्जुनधारा नगरपालिकाकी बोर्ड सदस्य सकुन्तला बराल, शान्ता श्रेष्ठ लगायतले सबैखाले हिंसाबाट मुक्त गरी सामाजिक न्याययुक्त समाज निर्माणमा जोड दिए ।

संवाद समूह झापाले संयोजन गरेको छलफलमा चार बुँदे साझा निष्कर्ष समेत निकालिएको छ ।
साझा निष्कर्षमा लैङ्गिक हिंसा नियन्त्रण रोकथामका लागि स्थानीय सरकारहरुले विभिन्न संघ–संस्था एवम् सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने, लैङ्गिक हिंसा न्यूनीकरण गर्ने कार्यक्रमलाई प्राथमिकता दिने, सरोकारवालाबीच निरन्तर छलफल तथा लक्षित वर्ग समुदायमा सचेतना अभिवृद्धि गर्ने, लैङ्गिक हिंसा नियन्त्रण र रोकथामका लागि कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाले आफ्ना पालिकामा र पालिका अन्तर्गत रहेका सुरक्षा प्रशासन, सामाजिक संघ–संस्थासँग समन्वय गरी पर्न आएका लैङ्गिक हिंसाका उजुरीबारे तथ्यांक लिने, संघ–संस्था लगायतका सरोकारवालाले सहयोग गर्ने र सबैको सहकार्यमा अघि बढ्ने, कम्तिमा महिनामा एकदिन पालिकामा उपप्रमुख÷उपाध्यक्षसँग हिंसापीडितको गुनासो, सुनुवाई कार्यक्रम गर्न पहल गर्ने रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.